काठमाडौं। दिनप्रतिदिन हवाई इन्धनको मूल्य निरन्तर रूपमा बढ्दै जाँदा वायुसेवा कम्पनीहरू त्यसको प्रत्यक्ष मारमा परेका छन्। आम्दानीको ५५ देखि ६० प्रतिशतसम्म इन्धनमै खर्च हुन थालेपछि सञ्चालन खर्चनै उठाउन धौ धौ भएको भन्दै संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहुलियतका लागि अनुरोध गर्न थालेका छन्।
कोभिडकै बेला जस्तो अहिले इन्धनको मूल्य वृद्धिले समस्या पार्न थालेको भन्दै अधिकांश वायुसेवा कम्पनीहरू संकटउन्मुख भएको वायुसेवा सञ्चालक संघका अध्यक्ष एवं कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतावजंग पाण्डेको भनाइ छ। ‘हवाई इन्धनको मूल्य बढ्दा टिकटको मूल्य बढेको र त्यसको प्रभाव यात्रुमा पर्दा निकै समस्या भएको छ,’ अध्यक्ष पाण्डेले भने, ‘जसोतसो अहिलेसम्म चलिरहेको छ, त्यसपछिको समयमा धान्न सकिने स्थितिमा छैनौँ।’
बुद्ध एयरका प्रवक्ता रुपेश जोशीले अप्रिल महिनामा मात्र १ लाख भन्दा बढी हवाई यात्रुहरू घटेको जानकारी दिए। पहिलाको तुलनामा यात्रुहरू घटेको र बढेको हवाई इन्धनको मूल्यमा समायोजन गरेको भाडामा पनि सबैभन्दा कम फेयरको ६५ प्रतिशत मात्र बढाएको उनले बताए। ‘सबैभन्दा तल्लो फेयरबाट मूल्य बढाउँदा समेत यात्रुहरू घटिरहेको छ,’ प्रवक्ता जोशीले भने, ‘बढेको मूल्य र समायोजन अनुसार टिकटको मूल्य निर्धारण गरे यात्रु नै नपाउने जोखिम छ।’
यात्रुको संख्या घटेसँगै वायुसेवा कम्पनीको आम्दानी घटेको जनाएको छ। जसको कारण विमानस्थल प्रयोगबापत दिने शुल्कहरू समेत तिर्न धौधौ हुने स्थिति आउन लागेकोले पर्यटन मन्त्रालय र प्राधिकरणले मूल्य नघटेसम्मका लागि सहुलियत दिनुपर्ने बेला आएको व्यवसायीहरूको भनाइ छ।
कोभिडको बेला पनि पर्यटन मन्त्रालयमार्फत निर्णय गरेर वायुसेवा कम्पनीहरूलाई ल्याण्डिङ, पार्किङ र यात्रुहरूबाट लिने शुल्क घटाएको थियो। अहिले प्रत्येक यात्रुले काट्ने टिकट बापत क्षेत्र अनुसार न्यूनतम ५०० रुपैयाँ प्राधिकरणलाई जाने गरेको छ।
त्यसैले यो बेला प्राधिकरणले वायुसेवा कम्पनीहरूलाई बचाउनका लागि सहुलियतका प्याकेजहरू दिनुपर्ने बेला आएको यती एयरलाइन्सका अकाउन्टे बल म्यानेजर युवराज विष्टको भनाइ छ। ‘हामीलाई अहिले निकै समस्या भएको छ,’ अकाउन्टे बल म्यानेजर विष्टले भने, ‘मध्यपूर्वमा भएको तनाव नरोकेसम्म सहुलियत नदिए धेरै कम्पनीहरू बन्द हुने स्थिति आउन सक्छ।’
श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल मानन्धरले इन्धनको मूल्य बढ्दा चौतर्फी प्रभाव परेको बत्ताउँछन्। एकातिर मूल्य बढेर भाडा बढेको र अर्कोतर्फ लामो समयसम्म आकाश र विमानस्थलमै जहाज होल्ड हुँदा इन्धन खपत बढ्ने हुँदा सञ्चालन खर्चमा ठुलो नोक्सानी हुने गरेकोले त्यसतर्फ सरकारले ध्यान दिन आवश्यक रहेको बत्ताउँछन्। मौसम खराबी लगायतका समस्याले जहाज डिले हुँदा यात्रुहरूको आक्रोश एयरलाइन्सका कर्मचारीहरू माथि पर्ने गरेको प्रति समेत उनले दुख व्यक्त गरे।
अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सको झनै नाजुक
नेपालबाट अहिले नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ। यी एयरलाइन्सलाई पनि हवाई इन्धनको बढ्दो मूल्यले निकै समस्या पारेको जनाएको छ। हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले मध्यपूर्वको तनाव लम्बिँदै जाँदा हवाई यात्रु घटेको र इन्धनको मूल्य निरन्तर बढ्दा संकट थपिएको बताए। ‘अहिलेसम्म जसोतसो विभिन्न मुलुकमा उडान गरिरहेका छौँ,’ उपाध्यक्ष श्रेष्ठले भने, ‘विदेशका धेरै एयरलाइन्सहरूले उडान कटौती गरिरहेका छन्, हाम्रो पनि स्थिति त्यही आउने बेला भएको छ।’
उसै पनि नेपालमा विश्वको अरू मुलुकभन्दा महँगोमा हवाई इन्धन बिक्री हुने भित्र पर्छ। त्यही माथि दैनिक रूपमा इन्धनको मूल्य बढ्दा समस्या भएकोले तत्कालका लागि प्राधिकरणमार्फत सहुलियत प्राप्त हुन आवश्यक रहेको उपाध्यक्ष श्रेष्ठको भनाइ छ।
नेपाल आयल निगमले बिहीबार राती मात्र हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ प्रतिकिलोमिटर अमेरिकी डलर ४६ ले बढाएको छ। योसँगै काठमाडौँमा आन्तरिकको प्रतिलिटर २६९ र अन्तर्राष्ट्रिय तर्फ प्रतिकिलोमिटर १८३१ अमेरिकी डलर पुगेको छ।