काठमाडौं । पछिल्लो समय साधारण सेयर (आईपीओ) निष्कासन गरेका साना जलविद्युत् आयोजना वित्तीय सङ्कटमा फसेपछि सर्वसाधारणको लगानी जोखिममा परेको छ । समस्याग्रस्त भएका २५ मध्ये ९ ओटा जलविद्युत् कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् ।
यी कम्पनीको सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भएको छ । सङ्कटग्रस्त सबै आयोजनाको सेयर मूल्य घटेर १०० रुपैयाँभन्दा कम छ । वित्तीय अवस्था कमजोर भएपछि यिनीहरुले लगानीकर्तालाई प्रतिफल दिन सकेका छैनन् ।
आयोजना बनाउन लिएको कर्जा तिर्न नसकेपछि ३ ओटा आयोजनालाई बैङ्क तथा वित्तीयले कालोसूचीमा राख्ने चेतावनी दिएका छन् । बाँकी आयोजनाको अवस्था पनि कमजोर देखिएको रुग्ण जलविद्युत् आयोजना समन्वय समितिका संयोजक सूर्यप्रसाद अधिकारीले बताए ।
वित्तीय सङ्कटमा परेका नेप्सेमा सूचीकृत जलविद्युत् कम्पनीमा वरुण हाइड्रोपावर लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, कालिका पावर कम्पनी लिमिटेड, खानिखोला हाइड्रोपावर लिमिटेड, नाग्दी ग्रुप पावर लिमिटेड छन् । यस्तै सिनर्जी पावर डेभपलमेन्ट कम्पनी लिमिटेड, युनियन हाइड्रोपावर लिमिटेड, शुभम् पावर लिमिटेड र नेपाल हाइड्रोपावर डेभलपर लिमिटेड छन् ।
नेप्सेमा सूचीकृतबाहेक बाराही हाइड्रोपावर लिमिटेड, लाफिङ बुद्ध पावर लिमिटेड, भैरवकुण्ड, थोपलखोला, शिवानी हाइड्रोपावर, इलेक्ट्रोकम एन्ड रिसर्च सेन्टर, मोलुङखोला, सयपत्री हाइड्रोपावर, बोजेनी हाइड्रो, साप्सु कालिका हाइड्रो र सालमनीदेवी हाइड्रो, युनिक हाइडेल र सेन्टर फर पावर डेभलपमेन्ट छन् ।
आयोजनाको लागत बढेर विद्युत् खरिदबिक्री दर (पीपीए)ले नधान्ने अवस्था, बैङ्कको ब्याजदर बढेको निर्धारित समयमा प्रसारणलाइन नबनेको, खोलामा पानीको बहाव कम हुँदा उत्पादनमा असर गर्दा सङ्कटमा परेको संयोजक अधिकारीको भनाइ छ । नेपाल विद्युत् प्राधिकरणलाई हाइड्रोलोजी पेनाल्टी भुक्तानी गर्नुपरेको उनको गुनासो छ ।
बैङ्कहरुले साँवा र ब्याज तिर्न नसकेका जलविद्युत् आयोजनाको धमाधम लिलामीको सूचना निकाल्न लागेको जानकारी आएको स्वतन्त्र ऊर्जा उत्पादक संस्था नेपाल (इप्पान) का उपाध्यक्ष कुमार पाण्डे बताउँछन् । उनले ३ ओटा आयोजनालाई बैङ्कले कालोसूचीमा राख्ने चेतावनी दिएको जानकारी आएको उनको भनाइ छ । आयोजनाको कमाइबाट अपुग भएपछि लगानीकर्ताहरुले आफनो खल्तीबाट ब्याज भुत्तानी गरिरहेका उनले सुनाए ।
२५ ओटा आयोजनामा ३६ अर्ब रुपैयाँ लगानी भएको छ । जलविद्युत् आयोजनाले हामी धराशायी भयाैं भनेर निवेदन दिएका छन् । सुक्खायाममा नदीको बहावमा हुने कमीको कारणले गर्दा आम्दानीमा २८ प्रतिशतले ह्रास आएको, सुक्खायाममा अनुमान गरिएको विद्युत् उत्पादन गर्न नसक्दा विद्युत प्राधिकरणलाई १४ प्रतिशत हर्जना तिर्नुपरेको गुनासो लगानीकर्ताको छ ।