काठमाडाैं । अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डाक्टर स्वर्णिम वाग्लेले नेपालको आर्थिक अवस्था श्रीलङ्काको बाटोमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनले आज बुधबार गरेको कार्यक्रममा डा. वाग्लेले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तै टाट पल्टिँदैछ भनेर अतिरञ्जना फैलाउन खोजिएको तर हल्ला गरेजस्तो यथार्थ नरहेको बताए ।
श्रीलङ्कामा पछिल्लो समय देखिएको आर्थिक सङ्कट शासकीय अहङ्कार र उन्मादका कारण सिर्जना भएको बताउँदै डा. वाग्लेले चुनाव जित्ने र जितिसकेपछि लोकप्रियताका लागि अध्ययनविना नै कर छुट, प्रतिफलको मूल्यांकन नै नगरी विदेशी ऋण लिएर पूर्वाधार निर्माणलगायतका गलत नीतिका कारण देश नै टाट पल्टिने अवस्थामा पुगेको बताए ।
नेपालले भने तिर्न नसक्ने गरी ऋण नलिएको र पुर्न नसक्ने गरी शोधनान्तर घाटाको अवस्थामा पनि नरहेकाले आत्तिनुनपर्ने तर अहिलेदेखि नै गलत दिशामा गइरहेका सूचकलाई सही बाटोमा ल्याउनुपर्ने उनले बताए ।
श्रीलङ्कामा जस्तै नेपालमा पनि अध्ययन नगरि आर्थिक नीति बनाउने, देश हाक्नेहरूलाई सल्लाहकारले सही सूचना नदिने, ठूला भ्रष्टाचारलगायतका केही विषय मिल्ने भएकाले सचेत हुनैपर्ने वाग्लेको भनाइ छ ।
सामाजिक सुरक्षा भत्ता, अनुदान, राहत लगायतमार्फत राज्यको पैसा हचुवाका भरमा वितरण भइरहेको भन्दै उनले पर्याप्त अध्ययन गरेर मात्रै सरकारले पैसा खर्च गर्नुपर्ने बताए ।
श्रीलङ्का सरकारको नीतिगत ब्लण्डरले नै समस्या सिर्जना भएको देखिन्छ, नेपाल सो अवस्थामा नपुगे पनि कहिलेकाहीँ त्यस्तो संकेत देखिन्छ, ‘श्रीलंकामा जसरी नेपालमा पनि हचुवाका भरमा नीति निर्माण गर्ने अभ्यास देखिएको छ,त्यसबाट हामीले बच्नुपर्छ,’ उनले भने ।
उनले श्रीलङ्काले पूर्वाधार निर्माण र कर कटौतीका विषयमा हचुवाको भरमा वैदेशिक ऋण लिएको प्रसंग जोड्दै सरकारले सनकको भरमा त्यस्ता निर्णय लिन नहुने धारणा राखे ।
‘श्रीलङ्काको मूल्य अभिवृद्धि कर १५ प्रतिशतबाट ८ प्रतिशत बनाउने, मूल्य अभिबृद्धि करको सीमा १ करोड २० लाख, ३० करोड पुर्याउने निर्णय गलत थियो, ती सबै निर्णय सनकका भरमा भएका निर्णय थिए, सो निर्णयले नै श्रीलङ्कालाई संकटमा ल्यायो,’ उनले भने ।
यस्तै, उनले जथाभावी रूपमा कर चलाउँदा समस्या भएको बताउँदै कर नीति चलाउँदा सजग हुनुपर्ने धारणा राखे । ‘नेपालमा हतारमा निर्णय गर्ने, कार्यान्वयन नहुने, त्यसको इम्याक्ट नहेर्ने लगायतका समस्या छन्, भ्रष्टाचार गर्नकै लागि र सनककै भरमा निर्णय गर्ने परिपाटीले समस्या ल्याउँछ, यस्ता निर्णयलाई मार्केटले जरिवाना गर्छ, त्यसपछि संकट सुरु हुन्छ,’ उनले भने ।
यस्तै, उनले सरकारले सल्लाहकारबाट पनि सर्तक हुनु पर्ने धारणा राखे । ‘सल्लाहकारले पनि अर्थमन्त्रीलाई गुमराहमा राख्छन्, श्रीलङ्कामा पनि त्यही भएको हो, सबै ठीक छ भनेर भन्ने जब समस्या हुन्छ त्यसपछि भ्वाङ पर्छ, अर्थ मन्त्रालयले पनि यस्तो प्रवृत्तिबाट पाठ सिक्न जरुरी छ,’ उनले भने ।