काठमाडौं । सरकारले राप्ती, भेरी र कर्णाली नदीमा पक्की पुल निर्माणका लागि कम्पनी छनोट गरेको छ । तीन ओटा पुल निर्माणका लागि सडक विभागले कम्पनी छनोट गरी प्रक्रिया अघि बढाएको हो ।
दाङको सतवरिया-राजापुर सडकअन्तर्गत राप्ती नदीमा प्रस्ताव गरिएको ५०२.८५ मिटर लम्बाइको पक्की पुलको ‘डिजाइन एण्ड विल्ड’ करारअन्तर्गत निर्माण गर्न लागिएको हो ।
परामर्शदाता कम्पनी प्रकृति कन्सल्ट प्रालिअन्तर्गत उक्त पुल निर्माणका लागि शर्मा/अनक जेभीले ठेक्का पाएको छ । यता, सुर्खेतमा तातोपानी घाटगाउँ सडकअन्तर्गत भेरी नदीमा पनि पक्की पुल निर्माणका लागि ठेकेदार छनोट भएको सडक विभागले जनाएको छ ।
सुर्खेत पञ्चपुर नगरपालिका-११ र चौकुने गाउँपालिका जोड्ने भेरी नदीमा ३०३.७० लम्बाइको पक्की पुल बन्नेछ । सो पुलको परामर्शदाता प्रकृति कन्सल्ट प्रालि छ भने निर्माण निर्माणको ठेक्का अनक/लुम्बिनी जेभीले पाएको छ ।
त्यस्तै, सर्खेतमै कर्णाली नदीमा अर्को पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट भई प्रक्रिया अघि बढेको छ । सुर्खेतको चौकुने गाउँपालिका र मोहन्याल गाउँपालिका जोड्ने कर्णाली नदीमा प्रस्तावित ५५०.८५ लामो पक्की पुल निर्माण हुनेछ । अनक/लुम्बिनी/रोशन जेभीले उक्त पुल निर्माणका लागि ठेक्का पाएको छ ।
तीनओटै पुल निर्माणका लागि सडक विभागले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) अध्ययन अघि बढाएको छ । अध्ययनका लागि पुल निर्माण हुने क्षेत्रको भौतिक, जैविक, सामाजिक, आर्थिक तथा सांस्कृतिक पक्षमा पर्ने प्रभाव कस्तो पर्दछ भनेर त्यसक्षेत्रका सरोकारवाला र सङ्घ संस्थाबाट राय सुझाव सङ्कलन सुरु गरिएको सडक विभागले जनाएको छ ।
विभागका अनुसार १५ दिनभित्र सम्बन्धित सरोकारवालाबाट राय सुझाव माग गरिएको र त्यसपछि प्रक्रिय अघि बढ्नेछ ।