काठमाडौं। अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ डेपुटी गभर्नर नियुक्तीका लागि गभर्नर डा. विश्वनाथ पौडेलसँग ४ जनाको नाम मागेका छन्। डेपुटी गभर्नर नियुक्ति नभएर नेपाल राष्ट्र बैंकको कामकारबाही प्रभावित भइरहेका बेला सरकारले नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढाएको हो।
गभर्नरले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट ४ जनाको नाम सिफारिस गर्ने छन् र त्यसमध्ये मन्त्रिपरिषद् २ जनालाई डेपुटी गभर्नर बनाउनेछ। गत चैत २५ गते डा. निलम ढुंगाना र बमबहादुर मिश्रले आफ्नो ४ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएपछि सञ्चालक समिति बैठक समेत बस्न सकेको छैन।
अघिल्लो सरकारले नै डेपुटी गभर्नर नियुक्तीका लागि आवश्यक तयारी पूरा गरिसकेको भए पनि रास्वपाका नेताहरुले अहिले कुनै पनि नियुक्ती नगर्न सरकारलाई सुझाएपछि रोकिएको थियो। अर्थमन्त्रालय स्रोतका अनुसार, सोमबार बस्ने मन्त्रिपरिषद्मा डेपुटी गभर्नर नियुक्तिका लागि नाम जान्छन्, जाँदैनन्, थाहा छैन। तर, अर्थमन्त्रीज्यूले गभर्नर पौडेलसँग नाम मागिसक्नु भएको छ। सायद, नाम बुझाइसक्नु भएको होला।
डेपुटी गभर्नर नियुक्ति, मुलुकको आन्तरिक र बाह्य अर्थतन्त्र, निजी क्षेत्रको मनोबलका विषयमा अर्थमन्त्री वाग्ले र गभर्नरबीच निरन्तर छलफल भइरहेको छ। डेपुटी गभर्नरले विभिन्न विभागको नेतृत्व गर्थे,' उनले भने, 'गभर्नरको धेरै काम डेपुटीमार्फत हुन्थ्यो। तिनै डेपुटी गभर्नर नहुँदा काममा अवरोध हुनु स्वाभाविक हो।'
अहिले कार्यकारी निर्देशकबाट एकैपटक फाइल आउँदा गभर्नरलाई पनि कामको चाप बढेको छ। 'डेपुटी नै नभएका कारण गभर्नर पौडेलले बढी दौडधूप गर्नुपरेको छ,' राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले भने, 'गभर्नर एक्लैले दुई डेपुटीको काम गर्न जति दौडधूप गरे पनि सक्ने अवस्था छैन।' राष्ट्र बैंकका कार्यकारी निर्देशकबाटै छान्नुपर्ने भए पनि गभर्नरको सिफरिसमा मन्त्रिपरिषदले नियुक्त गर्ने भएकाले नियुक्तिमा राजनीतिक हस्तक्षेप हुने अड्कल गरिएको छ।
राष्ट्र बैंक ऐनले अहिले कायम रहेका १६ कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर बन्न बराबरी योग्यता दिएको छ।