काठमाडौं । नुवाकोट सिसडोलका स्थानीयले काठमाडौंको फोहोर बोकेका गाडीलाई पुनः अवरोध गरेका छन् । सरकार र फोहोर फाल्ने क्षेत्रका प्रतिनिधिबीच भएको सहमति नमान्ने भन्दै सिसडोलका स्थानीयले फोहोर फाल्न रोक लगाएका छन् ।
साेमबार सहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिकाका प्रतिनिधिहरुबीच मंगलबारबाट काठमाडौंको फोहोर बिसर्जन गर्ने सहमति भएको थियो ।
मंगलबार बिहान काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई स्थानीयले बाटोमै रोकेका छन् । उनीहरुले उक्त सहमति नमान्ने भन्दै फोहोर बिसर्जन गर्न नदिएको काठमाडौं महानगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर गत १४ जेठदेखि उठ्न सकेको छैन । फोहोर सडकमै थुप्रिएकाले दुर्गन्ध बढेको छ ।
सहरी विकास मन्त्रालयको पहलमा बसेको बैठकमा भएको सहमतिमा सहरी विकास मन्त्रालयका आयोजना निर्देशक रवीन्द्र बोहरा, काठमाडौं महागरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनिबेसी नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल र ककनी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत गीता कुमारी शर्माले हस्ताक्षर गरेका थिए ।
उनीहरुले सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरका मेयर बालेन्द्र साह, उपमेयर सुनिता डंगोल, सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह, ललितपुर महानगरपालिकाकी उपमेयर मञ्जली शाक्य, धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष मिठुमाया तामाङ, काठमाडौंका प्रहरी बरिष्ठ उपरीक्षक सुदीप गिरी, ककनी गाउँपालिका वडा नं. ३ का अध्यक्ष घननाथ बजगाईंको रोहबरमा सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।