काठमाडौं । कर्मचारी सञ्चय कोषले दुई ठूला परियोजनामा लगानी सम्झौता गरेको छ ।
कोषले निजी लगानीमा निर्माण हुन लागेको ९७.२ मेगावाटको इस्वाखोला जलविद्युत् आयोजना निर्माण र होङ्सी शिवम् सिमेन्टको क्षमता विस्तार गर्न ३ अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेको कोषका वरिष्ठ प्रवन्धक अर्जुनकुमार गौतमले बताए ।
इस्वाखोला जलविद्युत् आयोजनामा सानिमा बैङ्कको अगुवाइमा कोषले १ अर्ब रुपैयाँ ऋण लगानी सम्झौता गरेको उनले जानकारी दिए । इस्वाखोला आयोजनाको लागत १० अर्ब रुपैयाँ छ । आगामी २०८० मा सम्पन्न गर्ने आयोजनाका सञ्चालक वीरेन्द्र न्यौपानेले बताए ।
उनका अनुसार आयोजनाकाे विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) भइसकेकाे छ । त्यस्तै सरकारबाट विद्युत् उत्पादन अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ । आयोजना संखुवासभा जिल्लामा रहेको छ । विद्युत् प्राधिकरणसँग भएको पीपीएअनुसार ४ वर्षभित्र आयोजना सम्पन्न गर्नुपर्ने छ । आयोजनाको काम सुरु भइसकेको न्यौपानेले जानकारी दिए ।
यस्तै काेषले होङ्सी शिवम् सिमेन्ट कम्पनीलाई २ अर्ब रुपैयाँ ऋण दिने सम्झौता गरेको छ । होङ्सीलाई १ अर्ब १८ करोड रुपैयाँ ऋण दिइसकको उनले जानकारी दिए । ८२ करोड रुपैयाँ दिन बाँकी छ । चालु आर्थिक वर्ष सुरु भएयता कोषको यो नै ठूलो लगानी भएको गाैतमले सुनाए ।
होङ्सी शिवमकाे उत्पादन दोब्बर बनाउन कोषले लगानी गरेको हो । हाल दैनिक ६ हजार टन सिमेन्ट उत्पादन गरिरहेको होङ्सी शिवमले दैनिक १२ हजार टन सिमेन्ट उत्पादन गर्ने तयारी थालेको छ । एनएमबी बैङ्कको आग्रहमा सञ्चय कोषले होङ्सी शिवमकाे क्षमता विस्तारका लागि ऋण लगानी गरेको हो । एनएमबीले सहवित्तीयकरणमार्फत १४ अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।
नवलपरासीमा सिमेन्ट कारखाना स्थापनाका लागि उद्योगले ३६ अर्ब ७५ करोड रुपैयाँ (करिब ३५ करोड ९१ लाख) अमेरिकी डलर लगानी गर्नेछ । यस्तै नेपाल बैङ्कको अगुवाइमा दोलखामा रहेको १२० मेगावाटको लाप्चीखोला जलविद्युत् आयोजनामा पनि काेषले लगानी तयारी गरेकाे गौतमले सुनाए ।
कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, ५७ मेगावाटको तल्लो र माथिल्लो सान्जेन, १०२ मेगावाटको मध्य भोटेकोसीमा ऋण लगानी गरेको छ । नयाँ विमान खरिद गर्न कोषले नेपाल वायुसेवा निगमलाई समेत ऋण उपलब्ध गराएको छ ।
कोषले आफ्नो स्रोतलाई पूर्वाधार विकासमा लगानी गर्ने योजना सार्वजनिक गरेको छ । केही परियोजना अध्ययनका क्रममा रहेको कोषले बताएको छ । यो वर्षदेखि राम्रो प्रतिफल दिने पूर्वाधार आयोजनामा लगानी गर्ने गौतमले बताए ।
कोषले बैङ्क तथा वित्तीय संस्था र जलविद्युत् गरी २० ओटा कम्पनीमा साढे ७ अर्ब रुपैयाँ सेयर लगानी गरिसेको छ । कोषले धमाधम बैङ्कहरुको संस्थापक सेयर खरिद गरिरहेको छ ।