काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ३ हजार १ सय १२ को नमुना परीक्षण गरिएको थियो । १ हजार ९ सय ४४ ले पीसीआर र १ हजार १ सय ५८ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सो अवधिमा २० जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ६७ हजार ५ सय ५५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर ९८ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १ लाख ११ हजार ५३१ ले कोभिडविरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ सय १ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ५२ पुगेको छ । होम आइसोलेसनमा ३९९, संस्थागत आइसोलेसनमा दुई, आइसीयू दुई र भेन्टिलेटरमा एक जना सङ्क्रमित छन् ।
हाल देशभरमा २ सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला कुनै पनि छैनन् । शून्य सङ्क्रमित रहेका जिल्लामा सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ, सप्तरी, मनाङ, मुस्ताङ, म्याग्दी, गोरखा, तनहुँ, नवलपरासी दाङ, अर्घाखाँची, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ, डडेलधुरा र कञ्चनपुर छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २१९ र ललितपुर ३४ र भक्तपुरमा १० सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमण दर १७ प्रतिशत छ ।