काठमाडौं । कार्ट्स रेसिङ प्रतियोगिता ‘कार्ट्समान्डु सिलालम‘ मा दिगविजय अधिकारीले जितेका छन् । नासा नेपालको आयोजनामा हिमालयन मोटरल्याण्ड,धुलिखेलमा सम्पन्न टुर्नामेन्टमा बिबेश श्रेष्ठ र फेलिक्स भ्यान रिसनले क्रमश दोश्रो र तेश्रो स्थान हासिल गरि पोडियम प्राप्त गरेका थिए, भाने जय प्रताप मास्के र दिप्रश शाक्य ले चौथो र पाँचौ स्थान हासिल गरे ।
प्रतियोगिता निकै कठिन र चुनौतीपूर्ण थियो । विजेताहरुबीच केही सेकेन्ड मात्र फरकका बीच विजयी भएका थिए । सहभागीहरुले ठूलो महत्वाकांक्ष र उत्साह देखाए र अनुशासनात्मक रुपमा एकअर्कासँग प्रतिस्पर्धा गर्दै रोमान्चक तरिकाले खेल खेलेका थिए ।
विजयीलाई राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य सचिव टंकलाल घिसिङ, एफआई ए वर्ल्ड काउन्सिल मेम्बर गोविन्द भट्टराई, राखेपका बोर्ड सदस्य अन्जन धमला, नासा नेपालका अध्यक्ष दशरथ रिसाले उपाधि र प्रमाणपत्र प्रदान गरेका थिए ।

पुरस्कार वितरण गर्दै राखेपका सदस्य सचिव घिसिङले अनेक चुनौतीका बाबजुद नेपालको मोटर स्पोर्टस सन्तोषजनक रहेको बताउँदै आगामी दिनमा राखेपले प्रत्यक्ष सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
यसअघि तालिम प्राप्त करिब ३० जना नेसनल ड्राइभरहरु सहभागी भएका क्वालिफाइङ्ग राउण्डमा विजय भएका उत्कृष्ठ ८ ड्राइभर फाइनल राउण्डमा पुगेका थिए । फाइनल राउण्डमा दिगविजय अधिकारी, विवेश श्रेष्ठ, फेलिक्स भ्यान रिसन, दिप्रश शाक्य, सन्जोक लामा तामाङ, जयप्रताप मास्के, रोनिस मर्हजन र अनुज श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए ।
पोडियम प्राप्त हुन सफल भएका टोलीलाई सिंगापुरको के एफवान सर्किटमा काटिर्ङको अवसर प्रदान गरिने नासा नेपालले घोषणा गरेको छ । प्रतियोगिताको सुरुवातमा सम्पूर्ण ड्राइभरहरुलाई कार्यक्रमका कोर्डिनेटर आशिष लामिछाने र नासा नेपालका सचिव सन्तोष न्यौपानेले ओरिएन्टेसन दिएका थिए ।