काठमाडौं। नेपाली बजारमा राइड सेयरिङ सेवाको प्रतिस्पर्धा बढ्दै गर्दा अमेरिकी बहुराष्ट्रिय यातायात कम्पनी ‘उबर’ नेपाली बजारमा प्रवेश गर्ने चर्चा चलेको छ। विगतमा पनि उबरले नेपाल प्रवेशको प्रयास गरेको थियो, तर विभिन्न नीतिगत र संरचनात्मक अवरोधका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन।
उबरले सन् २०१६ देखि नै नेपाली बजारमा प्रवेश गर्ने प्रयास गरेको थियो। तत्कालीन समय नेपालमा राइड सेयरिङप्रति चासो खासै थिएन। हाल राइड सेयरिङ सेवाप्रति बढ्दो चासो, डिजिटल अर्थतन्त्रको विस्तार र निजी क्षेत्रको सक्रियतासँगै उबर पुनः नेपाल प्रवेशको तयारीमा रहेको चर्चा चलेको हो।
विगतका दिनमा राइड सेयरिङसम्बन्धी स्पष्ट कानुन र नीति अभाव थियो। सरकारमा भइरहने परिवर्तन र प्रशासनिक निकायमा राइड सेयरिङ सेवाप्रतिको सीमित बुझाइका कारण प्रक्रिया अगाडि बढ्न सकेन।
तर, अहिले भौतिक, पूर्वधार तथा यातायात मन्त्रालयले राइड सेयरिङ सेवालाई सहजीकरण गर्न ‘डिजिटल मोविलिटी सेवा सञ्चालनसम्बन्धी मापदण्ड २०८२’ मस्यौदा तयार पारेको छ।
विश्वकै सबैभन्दा ठूलो राइड–सेयरिङ कम्पनी उबरमा २० करोड २० लाख बढी मासिक सक्रिय प्रयोगकर्ता, १ करोड सक्रिय चालक र कुरियर छन्। विश्वभर लगभग ७० देश र १५ हजार सहरमा उबर सञ्चालनमा छ।
सरकारले राइड सेयरिङ सेवाका लागि आवश्यक मापदण्ड र निजी सवारीले पनि राइड सेयरिङ सेवा दिन पाउने व्यवस्था गर्न लागेसँगै उबर नेपाली बजारमा भित्रिन लागेको अनुमान गरिएको छ।
यसअघि नेपालमा राइडसेयरिङको आधार खडा गर्ने पठाओ सञ्चालक असिममानसिंह बस्न्यातले राइड सेयरिङ सेवा ‘पठाओ’ नेपाली बजारमा प्रवेश गराउनुभन्दा पहिले उबर भित्र्याउने प्रयास गरेका थिए। पठाओ नेपाली बजारमा भित्र्याउनुभन्दा अगाडि उबर भित्र्याउन प्रयास गरेको पठओका सञ्चालक असिममानसिंह बस्न्यात बताउँछन्।
‘पठाओ नेपाली बजारमा प्रवेश गराउनुभन्दा पहिले उबर भित्र्याउन कम्पनीसँग कुराकानी भएको थियो,’ बस्न्यातले भने, ‘तर, उक्त समय उबरले नेपाली बजारमा आउन चासो नदेखाएपछि पठाओ ल्याएको हो।’कम्पनी आफैंले नेपाली बजारमा आउन नचाहेकाले पठाओ नेपाली बजारमा भित्र्याएको बस्न्यातको भनाइ छ।
एनका अनुसार उबरका प्रतिनिधिले पठाओ, इन–ड्राइभ, यांगोलगायत नेपाली बजारमा सक्रिय राइड सेयरिङ कम्पनीका उच्च अधिकारीसँग बजारको अवस्था बुझ्न छलफलसमेत गरेको छ।
नेपाली राइड सेयरिङ बजारमा ‘पठाओ’ आज स्थापित नाम बनिसकेको छ। २०७४ सालमा पठाओले नेपाली बजारमा पाइला टेक्नुअघि यसका सञ्चालक असिममानसिंह बस्न्यातले विश्वकै अग्रणी राइड सेयरिङ कम्पनी ‘उबर’ लाई नेपाल ल्याउन प्रयास गरेका थिए।
तर, तत्कालीन समयमा उबरले नेपालमा सम्भावना नदेखेपछि वा अन्य प्राविधिक कारणले आउन नचाहेपछि बस्न्यातले पठाओलाई भित्र्याएका हुन्।
अमेरिकी बहुराष्ट्रिय यातायात कम्पनी उबर नेपाली बजारमा भित्रिएसँगै यसले प्रतिस्पर्धा बढाउन सक्ने अनुमान गरिएको छ। कम्पनीले विश्वभर कुरियर सेवा, खाद्य डेलिभरी र सामग्री ढुवानीलगायत राइड–हेलिङ सेवा दिँदै आएको छ।
विश्वकै सबैभन्दा ठूलो राइड–सेयरिङ कम्पनी उबरमा २० करोड २० लाख बढी मासिक सक्रिय प्रयोगकर्ता, १ करोड सक्रिय चालक र कुरियर छन्। विश्वभर लगभग ७० देश र १५ हजार सहरमा उबर सञ्चालनमा छ।
सन् २००९ मा स्थापित अमेरिकामा स्थापना भएको उबर क्यापले सन् २०१० बाट सान फ्रान्सिस्कोबाट सेवा सुरु गरेको थियो। सन् २०११ देखि विश्वबजारमा सेवा विस्तार थालेको यो कम्पनीको ७० देशका १५ हजारभन्दा बढी सहरमा सेवा दिइरहेको छ। उबरको सेवा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, श्रीलंकालगायत देशमा छ।