काठमाडौं । हाल देशभर मनसुन सक्रिय छ । देशका अधिकांश ठाउँमा आंशिकदेखि सामान्य बदली भई विभिन्न ठाउँम भारी वर्षा भइरहेको छ । शनिबारसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान शाखाले पनि आगामी तीन दिनसम्म प्रमुख नदीहरुको बहाव सतर्कता तहभन्दा तलै रहने पूर्वानुमान गरेको छ ।
पूर्वानुमान शाखाका अनुसार बाराको सिमरा विमानस्थल, परवानीपुर तथा पर्सा जिल्लाको धेरै स्थानमा पछिल्लो तीन मा भारी वर्षा भएको छ ।
उक्त क्षेत्रमा थप वर्षा हुने सक्ने भएकाले पसाहा खोला, दुधौराखोलालगायत सो क्षेत्र भई बहने खोलामा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै तटीय क्षेत्र तथा डुबान भइरहने होचा स्थानमा दिउँसोसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
चितवन र आसपासका क्षेत्रका भारी वर्षा भएको छ । चितवनको माडी क्षेत्रको छर्छरे कल्याणपुर, बनकट्टा, गोविन्दबस्ती र आसपासको क्षेत्रमा भारी वर्षा भएको महाशाखाले जनाएको छ ।
सो क्षेत्र भएर बहने रिउखोला र अन्य खहरेखोलामा आकस्मिक बाढी आउनसक्ने, नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखमले आग्रह गरेको छ ।
चितवनकै शक्तिखोर, पर्साको ठोरी र आसपासका स्थानमा पनि भारी वर्षा भएको छ । यस्तै थप वर्षा हुनसक्ने भएकाले सो क्षेत्र भएर बहने राप्तीलगायत अन्य साना नदीमा आकस्मिक बहाव हुनसक्ने र डुबान भइरहने होचा स्थान र तटीय क्षेत्रमा सतर्कता अपनाउन पनि महाशाखाको आग्रह छ ।