काठमाडाैं। नयाँ सरकारबाट हाम्रो सबैभन्दा ठूलो अपेक्षा नीतिगत स्थायित्व र पूर्वानुमानयोग्यता हो। निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ, तर त्यसका लागि नियम बीचैमा परिवर्तन हुँदैनन् भन्ने विश्वासको आवश्यक छ। हाम्रो समूहले विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ। यी सबै दीर्घकालीन प्रतिबद्धता हुन्। तिनका लागि स्थिर नीतिगत वातावरण आवश्यक छ।
यो सरकारले सबैभन्दा महत्त्वपूर्ण विषय कर्मचारीतन्त्रमा रहेका अवरोध हटाउनुपर्छ। यो स्वीकृतिको प्रक्रियामा मात्र सीमित छैन। निर्णय लिन हुने ढिलाइ, फाइल एउटा कार्यालयबाट अर्कोमा घुमाइरहने संस्कृति, जिम्मेवारी लिन हिच्किचाउने प्रवृत्ति र अनावश्यक नियामक जटिलताले निजी क्षेत्रको ऊर्जा र लगानीलाई र अवरुद्ध गरिरहेका छन्। सरकारी निकायमा समयसीमाभित्र निर्णय गर्ने र जवाफदेहिता वहन गर्ने संस्कृतिको विकास गर्नु नयाँ सरकारको पहिलो प्राथमिकता हुनुपर्छ। डिजिटलाइजेसन, एकल बिन्दु सेवा प्रणाली र स्पष्ट कार्यतालिका कार्यान्वयन गर्न अब ढिला गर्नु हुँदैन।
दोस्रो, लगानी नीति गतिशील हुनुपर्छ। विश्व अर्थतन्त्र द्रुत गतिमा परिवर्तन भइरहेको छ। पुँजीको प्रवाह, प्रविधि र व्यापारको प्रकृति द्रुत गतिमा परिवर्तन भइरहेको छ। नेपालको लगानी नीति पनि सोही गतिमा परिमार्जन हुनुपर्छ, अन्यथा हामी प्रतिस्पर्धामा पछि पर्नेछौं। छिमेकी र क्षेत्रीय मुलुकले लगानीकर्ता तान्न निरन्तर आफ्ना नीतिहरू सुधार गरिरहेका छन्। नेपालले पनि त्यसरी नै चुस्त र प्रतिस्पर्धी लगानी वातावरण निर्माण गर्नुपर्छ।
तेस्रो, हामीलाई हाम्रो आफ्नै सीमाभित्र रहेका नेपालका दुई ठूला प्राकृतिक सम्पदा पर्यटन र जलविद्युत्बाट मुलुकभित्रै बढीभन्दा बढी लाभ लिने नीति चाहिएको छ। पर्यटनमा हामीले भिसा सुविधा, हवाई सम्पर्क विस्तार र गन्तव्य प्रवद्र्धनमार्फत ‘हाई–भ्यालु’ पर्यटकहरूलाई आकर्षित गर्नुपर्छ। जलविद्युतमा हाम्रो प्रचुर र सुलभ ऊर्जालाई प्रतिस्पर्धात्मक लाभको रूपमा प्रयोग गर्दै डाटा सेन्टर, ऊर्जा-गहन उद्योग र नयाँ प्रविधिमा आधारित व्यवसाय नेपाल भित्र्याउनुपर्छ। नयाँ सरकारको प्राथमिकता यी दुई क्षेत्रलाई कच्चा रूपमा निर्यात गर्नुभन्दा पनि स्वदेशमै मूल्य अभिवृद्धि गर्ने रणनीतिमा हुनुपर्छ।
चौथो, सरकारले दक्ष जनशक्ति उत्पादनका लागि निजी क्षेत्रसँग साझेदारी गर्नुपर्छ। नेपालको सबैभन्दा ठूलो सम्पत्ति यहाँका युवा हुन्, तर यदि हामीले तिनलाई उचित सीप र तालिम दिन सकेनौं भने त्यो सम्पत्ति विदेश पलायन हुनेछ।