काठमाडौं । कैलाली भन्सार कार्यालयभित्र सञ्चालित राष्ट्रिय बाणिज्य बैंकको काउन्टरका एक कर्मचारी बिहीबार बाँदरले कार्यालयभित्र गरेको फोहरले बनेको दुर्गन्धित वातावरणमा नाकमुख छोपेर हिँड्दै गरेको भेटिए ।
भन्सार कार्यालयको मुख्य ढोकाबाटभित्र पसेका बाँदरले ठाउँठाउँमा दिसा पिसाब गर्दा बनेको दुर्गन्धित वातावरणले उनी नाक र मुख छोपेर हिँड्न बाध्य भएका हुन् ।
उनले बाँदरको दिसाले कार्यालयभित्र हिँड्नै नसकिने गरी दुर्गन्ध फैलिँदा पनि कार्यालयको सरसफाइ र रेखदेखमा ध्यान नदिँदा सेवाग्राहीलाई समस्या भइरहेको बताए ।
भन्सार कार्यालयभित्र बैंकले सेवाग्राहीको सहजताका लागि आफ्नो काउन्टर सञ्चालन गरेको छ । भित्र पसेका बाँदरले भन्सार छलेर चोरी पैठारीको अभियोगमा दाखिला भई बरण्डाको कुनामा बोरामा राखिएको खाद्य सामग्री खाएर नोक्सान पुर्याइरहँदा बाँदरलाई धपाउने कोही थिएनन् ।
कार्यालय समयमा सेवा लिन पुगेका एक जना सेवाग्राही कोठाकोठा चहार्दै गर्दा पनि कोही कर्मचारी नभेटिएको गुनासो गर्दै थिए । नाम भन्न नचाहेको उनले राजस्व सङ्कलन गर्ने भन्सार कार्यालयमा समयमै कर्मचारी नभेटिने समस्याकाबीच आज कार्यालयभित्र भेटिएका बाँदर नै आफूलाई झम्टिन आउँदा डर लागेको बताए ।
कार्यालयको मुख्य ढोकाको छेउमा रहेको ‘हेल्प डेस्क’मा बसेका भन्सारका एक कर्मचारीले भने हिजो कार्यकक्षमै पसेर उपद्रो मच्चाएका बाँदरलाई बाहिर धपाउन हैरानी खेप्नुपर्याे ।
भन्सार छलेर चोरीपैठारीको अभियोगमा प्रहरीले झण्डै तीन/चार बोरा परिमाणको उक्त खाद्य सामग्री (पानीपुरी) बरामद गरेर भन्सार कार्यालयमा बुझाएको थियो । लिलाम गर्नुपर्ने उक्त खाद्य सामग्री कार्यालयको बरण्डामा थन्क्याइँदाभित्र पसेका बाँदरले खाएर नोक्सान पुर्याएका हुन् । उक्त खाद्य सामग्रीको भन्सार शुल्क लाग्ने गरेको बताइएको छ ।