काठमाडौं । पछिल्लो समय बैंकिङ प्रणालीमा प्रविधिको प्रयोगले कागजी नोटको माग घटेको देखिएको छ । प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाहरुले क्यासलेस कारोबारलाई बढावा दिएका कारण कागजी नोटको प्रयोग घट्दै गएको हो ।
आर्थिक वर्ष २०७५/७६ मा विस्तृत मुद्राप्रदाय १५ दशमलव ८ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । तर, अघिल्लो वर्ष २०७४/७५ मा मुद्राप्रदाय १९ दशमलव ४ प्रतिशतले बढेको थियो । यसलाई आधार मान्दा अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा झन्डै २ अर्ब रुपैयाँको कागजी नोटको प्रयोग घटेको नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
उनका अनुसार यस वर्ष पनि कागजी नोटको सर्कुलेसन घटेको छ ।’तर, नजिकिएको दशैं, तिहार जस्ता चाडपर्वमा भने सर्कुलेसन बढ्ने उनले बताए । उनले भने, ‘दशैं, तिहार सहरको पैसा गाउँमा लैजाने पर्व हुन्, त्यसैले यस्ता चाडपर्वमा कागजी नोटको सर्कुलेसन बढ्छ ।’
असोज ४ गतेसम्म बैंकिङ प्रणालीमा ४ खर्ब ९१ अर्ब ५९ करोड रुपैयाँ कागजी नोट रहेको राष्ट्र बैङकको तथ्यांक छ । यसमा ४ खर्ब ९१ अर्ब ५८ करोड ४२ लाख ४२ हजार १ सय ८ रुपैयाँ नयाँ नोट छन् भने ५७ लाख ५७ हजार ८ सय ९२ रुपैयाँ पुराना छन् ।
झन्डै ७० लाखले कार्ड प्रयोग गर्छन्
दशैं, तिहार, छठलगायतका चाडपर्वमा कार्डको माध्यमबाट किनमेल गर्ने प्रवृत्ति बढेको छ । सोही कारण पनि कागजी नोटको प्रयोगमा कमी आइरहेको हो । बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, एसएमएस बैंकिङ, वालेट बैंकिङ, डेबिट, भिसा तथा क्रेडिटलगायतका कार्डको प्रयोगलाई प्राथमिकता दिएका छन् । यस्ता कार्डको प्रयोगले कागजी नोटको प्रयोगमा कमी आएको प्रवक्ता निरौलाले बताए ।
आर्थिक वर्ष २०७५/७६ को अत्यसम्म नेपालमा डेबिट कार्ड बोक्नेको संख्या ६७ लाख र क्रेडिट कार्ड बोक्नेको संख्या सवा लाख पुगिसेकेको छ । यो अघिल्लो वर्षको तुलनामा क्रमश २१ र १८ प्रतिशतले बढी हो ।
नयाँ नोट छपाइ गर्न वार्षिक करिब ३ अर्ब रुपैयाँ खर्च हुने हुँदा नोटको संरक्षण गर्न राष्ट्र बैंकले अपिल गरेको छ । नेपालीहरुले धार्मिक कार्यमा कागजी पैसा प्रयोग गर्दा नोटको आयु घटेको भन्दै राष्ट्र बैंकले यस्तो आग्रह गरेको हो । सामान्यतया १ हजार र ५ सयका नोटको आयु ३ वर्ष र साना दरका नोटको आयु २ वर्ष हुन्छ ।
नोट कति समयमा प्रणालीमै फर्कन्छ भन्ने प्रयोगकर्तामा भर पर्ने कुरा हो । प्रयोगकर्ताले प्रयोग गरेर पुराना भएका नोट बैंकिङ प्रणालीमा पुगेपछि पुनः बजारमा जाँदैन । त्यस्ता पुराना, झुत्रा र मैला नोटको संकलन गरी राष्ट्र बैंकले धुल्याएर नष्ट गर्छ ।
दशैंमा मात्रै नयाँ नोट साट्दा यसको प्रयोग बढी भएको तथा सर्वसाधारणमा नयाँ नोटप्रति मोह बढेकाले अब बाह्रै महिना नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको प्रवक्ता निरौलाले बताए । दशै, तिहारलगायतका चाडमा मात्रै नभएर गत वर्षदेखि नै फागुपूर्णिमा, माघे संक्रान्ती, जनै पूर्णिमा, लोसार, नयाँ वर्षलगायतका चाडमा पनि राष्ट्र बैंकले नयाँ नोट साट्ने व्यवस्था गरेको छ ।