काठमाडौं । नेपाल राष्ट्र बैङ्कले खर्बौ रुपैयाँ बराबरको पुराना नोट जलाएर नष्ट गरेको छ । केन्द्रीय बैङ्कले ४ खर्ब ९४ अर्ब ७६ करोड ६९ लाख ९४ हजार ६२४ रुपैयाँ बराबरको पुराना नोटहरु जलाएर नष्ट गरेको हो ।
राष्ट्र बैङ्कले सर्वसाधारण, बैङ्क तथा वित्तीय संस्थाहरूबाट संकलन गरेका १ हजार, ५००, ५० र २० का गरि विभिन्न दरका पुराना, झुत्रा तथा मैला कागजी नोटहरु नष्ट गरेको हो ।
राष्ट्र बैङ्कका अनुसार गत आर्थिक वर्ष २०७५/७६ सम्ममा एक हजार दरका ५३ अर्ब २३ करोड २० लाख ३८ हजार, ५०० दरका १५ अर्ब ८० करोड २१ लाख २० हजार, २५० दरका ७ हजार ७५० रुपैँया १०० दरका ४ अर्ब १४ करोड ६३ लाख ३७ हजार ४०० रुपैयाँ पुरना, झुत्रा नोट नष्ट गरेको छ ।
त्यसैगरी, ५० दरका २ अर्ब २५ करोड २२ लाख २ हजार १५०, २५ दरका १ लाख ३६ हजार ८०० ,२० दरका ८४ करोड ९१ लाख २१ हजार १६०, १० का ४६ करोड ५७ लाख ३८ हजार २४०, ५ दरका २० करोड ९१ लाख ३९ हजार ८३५, २ का १ लाख ५३ हजार ८५० र १ दरका ३४ हजार २२ रुपैँया पूराना नोट जलाएको राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले बताए ।
गत आर्थिक वर्ष २०७४/०७५ मा राष्ट्र बैङ्कले ४ खर्ब १७ अर्ब ८० करोड रुपैँया जलाएर नष्ट गरेको थियो ।
यसरी नष्ट गरिन्छ, पुराना र झुत्रा नोट
बजारबाट संकलन भएका पुराना, झुत्रा र मैला नोटहरुलाई टुक्राटुक्रा पारी धुल्याइन्छ । प्रयोग गर्न नसकिने अवस्थामा पुगेका तर नम्बर देखिने नोटलाई प्रचलनमा नआउन् र त्यसको दुरुपयोग पनि नहोस भनेर टुक्रा पारिएका नोटलाई भट्टीमा राखेर जलाइन्छ ।
पछिल्ला वर्षमा धुल्याउनु पर्ने नोटको परिमाण बढ्ेको छ । आर्थिक वर्ष २०७४/०७५ को तुलनामा २०७५/७६ मा ७६ अर्ब ९५ करोड ७० लाख ३० हजार १०७ रुपैया धुल्याउनु पर्ने पुराना, झुत्रा र मैला नोटको परिमाण बढेको छ ।
नोटको आयु कति ?
सामान्यतया ठुला नोट १ हजार र ५०० दरका नोटको आयु सरदर साढे ३ वर्ष र साना दरका नोटको आयु साढे २ वर्ष जति हुने प्रवक्ता निरौला बताउँछन् ।
धार्मिक कार्यले नोट बिगारे ,जतन पूर्वक चलाउन राष्ट्र बैङ्कको आग्रह
दशैंलगायतका धार्मिक कार्य तथा पर्वहरुमा प्रयोग हुने टीका अक्षताले नोटलाई बिगार्ने भएकाले नयाँ नोटमा प्रयोग नगरी जतनपूर्वक प्रयोग गर्न राष्ट्र बैङ्कले आग्रह गरेको छ ।
राष्ट्र बैङ्कले नयाँ नोटको प्रयोग घटाउन दशैं, तिहार, छठ बाहेक अन्य राष्ट्रिय पर्वहरुमा पनि नयाँ नोट सटहीको व्यवस्था गरेको छ । बाह्रैमास नयाँ नोट दिएपछि सर्वसाधारणमा यसको मोह कम हुने र त्यसले नोटको जतन हुने भन्दै राष्ट्र बैंकले गत वर्षदेखि यस्तो व्यवस्था गरेको थियो ।
