काठमाडौं । वन तथा वातावरणमन्त्री प्रदीप यादवले नेपालको सबै वन क्षेत्रको दिगो व्यवस्थापन गर्दै काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाइने बताउनुभएको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले ‘सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी’ भन्ने मूल नाराका साथ आज आयोजना गरेको सामुदायिक वन दिवस, २०७९ को कार्यक्रममा मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाई नेपालमा वैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बताए ।
उनले वनको दिगो व्यवस्थापन गर्दै काठको उत्पादनमा वृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने र वैदेशिक काठ आयातमा निरुत्साहित गर्ने योजना रहेको सुनाए ।
यसैगरी मन्त्री यादवले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय वृद्धि भई वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण एवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षणलगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको जिकिर गरे ।
उनले वर्तमान अवस्थामा वन ऐनका प्रावधानबमोजिम व्यवस्थापनका लागि नेपालमा करिब २२ हजार पाँच सय १९ सामुदायिक वन उपभोक्ता समूहले करिब २३ लाख ५१ हजार पाँच सय ७७ हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा निकै सहयोग पुर्याएको जानकारी दिए ।
मन्त्री यादवले विशेषगरी तराई तथा मधेसका नजिक एवं टाढा दुवै स्थानमा बस्ने उपभोक्ताको काठ, दाउरालगायत वन पैदवारको आधारभूत मागलाई परिपूर्ति गर्न अझै बढी मेहनत गर्नुपर्ने बताए । विश्वमा नै नमूनाका रूपमा रहेको नेपालको सामुदायिक वन कार्यक्रमलाई अझ बढी समूह केन्द्रित, स्वायत्त तथा सशक्तरूपमा अगाडि बढाइने मन्त्री यादवले जानकारी गराए ।