काठमाडौं। आन्तरिक उडानमा दरिलाे उपस्थिति जनाइरहेकाे श्री एयरलाइन्सले १८० सिट क्षमताको नयाँ जहाज ल्याई दुबई, कतार र मलेसियालगायत मध्यपूर्वका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने भएको छ। अहिलेसम्म नेपाल वायु सेवा निगम, हिमालय एयरलाइन्सले त्यहाँ सेवा दिइरहेका थिए, अब श्री पनि प्रवेश गर्ने भएकाे हाे।
श्री एयरलाइन्सका उच्च अधिकारीहरूका अनुसार सन् २०२६ को अन्तिम महिना वा सन् २०२७ को शुरुवातसम्म १८० सिट क्षमताको आधुनिक र विशाल जेट जहाज नेपाल ल्याइनेछ। सुरुमा एउटा वटा ठूलो जहाजबाट अन्तर्राष्ट्रिय उडान सुरु गरिनेछ। छोटो दूरीका रुटहरूमा आफ्नो भरपर्दो बम्बार्डियर ड्यास–८–क्यू–४०० जहाज प्रयोग गर्दै दुबई, कतार, मलेसिया लगायत मध्यपूर्व र दक्षिण–पूर्व एशियाका गन्तव्यहरूमा विशाल जहाज उडाउने योजना तयार गरिएको छ।
मध्यपूर्वका मुलुकमा १७ लाखभन्दा बढी नेपाली श्रमिकहरू रहेका छन्। यी मेहनती नेपालीहरू हरेक वर्ष स्वदेश फर्कँदा र फेरि काममा जाँदा एयरलाइन्समा ठूलो रकम खर्च गर्न बाध्य छन्। कतिपय अवस्थामा महँगो भाडाका कारण घर आउन नै त्याग गर्नुपर्ने अवस्था आउँछ। श्री एयरलाइन्सको प्रवेशले यस समस्याको समाधान गर्नेछ।
आन्तरिक उडानमा ठूला जहाज ल्याएपछि भाडा घटाएर सर्वसाधारण यात्रुको मन जितेको श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानमा पनि त्यही प्रतिस्पर्धात्मक मूल्य नीति अपनाउने अपेक्षा गरिएको छ। यदि त्यसो भयो भने मध्यपूर्व जाने नेपाली श्रमिकहरूको ढाडमा परेको आर्थिक बोझ उल्लेखनीय रूपमा कम हुनेछ।
तीन महिनाभित्रै भारत उडान
मध्यपूर्वको तयारीका साथसाथै श्री एयरलाइन्सले तीन महिनाभित्रै भारतका विभिन्न प्रमुख सहरहरूमा नियमित उडान सुरु गर्ने लक्ष्य राखेको छ।
श्री एयरलाइन्सका बजार प्रमुख अनिल मानन्धरका अनुसार एक साता अघिमात्र कोलकत्तामा सफलतापूर्वक परीक्षण उडान सम्पन्न गरिएको छ। अन्तर्राष्ट्रिय उडानका लागि एयरलाइन्सले पार गर्नुपर्ने पाँचवटा कठिन चरणहरूमध्ये सबैभन्दा अन्तिम र महत्त्वपूर्ण पाँचौं चरण पनि पार गरिसकिएको छ। अब नेपाल नागरिक उड्डयन प्राधिकरणले आधिकारिक प्रमाणपत्र दिनेबित्तिकै भारतीय नागरिक उड्डयन अधिकारी समक्ष आवेदन पेश गरिनेछ र उडान सुरु हुनेछ।
नयाँ दिल्ली, कोलकत्ता लगायत भारतीय सहरहरूमा हाल नेपाली यात्रुहरूको आवागमन दिनानुदिन बढ्दो छ। नेपाली यात्रु मात्र होइन, नेपाल भ्रमणमा आउने विदेशी पर्यटकहरू पनि यही रुट हुँदै यात्रा गर्ने गर्छन्। तर सीमित एयरलाइन्सका कारण हवाई भाडा आकाश चुम्दै गएको र यात्रुहरू मारमा परेको गुनासो उद्योगजगत्मा बढ्दो थियो। श्रीको प्रवेशले यस रुटमा स्वस्थ प्रतिस्पर्धा ल्याउनेछ र भाडा घट्नेछ भन्ने पर्यटन व्यवसायीहरूको ठूलो आशा छ।
एउटा सानो हेलिकप्टरबाट विश्व आकाशसम्म
श्री एयरलाइन्सको यो सफलताको पछाडि एउटा अत्यन्तै प्रेरणादायी कथा छ। स्वर्गीय उद्योगपति बनवारीलाल मित्तलले सन् १९९८ मा मात्र ६३ वर्षको उमेरमा (जुन उमेरमा धेरैले अवकाश लिन्छन्) मुट्ठीभर हेलिकप्टरबाट श्री एयरलाइन्सको स्थापना गरे। त्यो साहसी निर्णयले आज नेपाली उड्डयन इतिहासमा एउटा नयाँ अध्याय थपेको छ।
साना हेलिकप्टरबाट सुरु भएको यो यात्रा आज ९ वटा स्थिरपंख जहाज (फिक्स्ड विङ) र ७ वटा हेलिकप्टर (रोटर) गरी जम्मा १६ वटा वायुयान छन्।
छिटै सर्वसाधारणको एयरलाइन्स
यो सुखद यात्रामा अझ एउटा खुशीको खबर थपिएको छ। श्री एयरलाइन्सले निकट भविष्यमा सर्वसाधारण नेपालीका लागि प्राथमिक सेयर (आईपीओ) जारी गर्ने तयारी थालेको छ। एयरलाइन्सको सफलताको हिस्सेदार अब हरेक साधारण नेपाली नागरिक पनि बन्न पाउनेछन्।