काठमाडौं। मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षणसँग सम्बन्धित बायोमेट्रिक प्रणालीमा फेरि आर्थिक अनियमितताको आरोप उठेको छ।
व्यवसायीहरूले मलेसियाको विवादास्पद कम्पनी बेस्टिनेट एसडिन बीएचडीसँग जोडिएका नेपाल प्रतिनिधिहरूले ‘सीआईबी मिलाउनुपर्ने’ भन्दै प्रत्येक मेडिकल संस्थाबाट १५ लाख रुपैयाँ असुली गरेको गम्भीर आरोप लगाएका छन्।
व्यवसायीका अनुसार मलेसियामा बसेर नेपाल र बंगलादेशको श्रम बजारमा सिण्डिकेट शैलीमा प्रभाव जमाउँदै आएका मोहम्मद अमिनुल इस्लाम नुर (अमिन)को निर्देशनमा नेपालमा बायोमेट्रिकको काम सम्हाल्ने समूहले पछिल्लो राजनीतिक अवस्थालाई कारण देखाउँदै रकम उठाएको हो। बेस्टिनेटले नेपालमा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ३७ वटा मेडिकल संस्थालाई सूचीकृत गरेको छ।
अमिनको नेटवर्कले कामदार भर्नादेखि मेडिकल परीक्षण, भिसा प्रक्रिया र पासपोर्ट व्यवस्थापनसम्मका काममा नियन्त्रण राख्दै आएको व्यवसायीहरूको दाबी छ। यसअघि पनि सीमित मेडिकल संस्थामार्फत मात्र स्वास्थ्य परीक्षण गराउने व्यवस्था लागू गरिँदा सिण्डिकेटको आरोप लागेको थियो।
एक व्यवसायीका अनुसार सुरुमा व्यवसाय सञ्चालनका लागि भन्दै प्रत्येक मेडिकलबाट करिब १ करोड ६० लाख रुपैयाँ संकलन गरिएको थियो, जसको पारदर्शिता अहिलेसम्म देखिएको छैन। ‘त्यस बेला झन्डै ६० करोड रुपैयाँ उठाइयो। तर, हिसाब छैन। अहिले फेरि १५ लाखका दरले रकम मागिएको छ,’ उनले भने।
रकम नदिए मलेसियाबाटै सिस्टम बन्द गरिदिने धम्कीसमेत आउने गरेको व्यवसायीहरूको गुनासो छ। ‘पैसा नदिए कामै रोक्ने अवस्था बनाइन्छ, त्यसैले बाध्य भएर दिनुपरेको छ,’ एक व्यवसायीले बताए।
उता सरकारले स्वास्थ्य परीक्षण प्रणालीमा नयाँ व्यवस्था ल्याउने तयारी गरिरहेका बेला यस्तो असुली भएको भन्दै व्यवसायीहरू थप अन्योलमा परेका छन्। ‘न उजुरी गर्न सकिन्छ, न खुलेर बोल्न सकिन्छ—दोहोरै दबाबमा छौं, उनीहरूको भनाइ छ।