काठमाडौं। अस्ट्रेलियाली १५०औं धनीको सूचीमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष शेष घलेले काठमाडौंको केशरमहलमा निर्माण गरिरहेको पाँचतारे होटल १२ वर्षपछि सञ्चालनमा आउने निश्चित भएको छ। विभिन्न कारणले निर्माणमा ढिलाइ हुँदै आएको सो होटल २०८३ को साउनभित्रमा सञ्चालनमा आउने भएको हो।
-1776155896.jpg)
घले निकट एक अधिकारीका अनुसार भौतिक संरचनाको काम सबै सकिएको र अहिले कोठा डेकोरेसनको काम पनि अन्तिम चरणमा पुगेको छ। ‘रंगरोगनदेखि सबै काम सकिएर कोठा सजावटको काम भइरहेको छ,’ ती अधिकारीले भने, ‘पहिलाको तुलनामा लक्जरी बनाउने सोचका साथ केही डिजाइन परिवर्तन हुँदा ढिलाइ भएको हो।’
सन् २०१४ मा घले दम्पतीको संयुक्त कम्पनी एमआईटी ग्रुप होल्डिङले सुरुआती लगानी ८ अर्बमा सुरु गरेका थिए। १३ रोपनी क्षेत्रफलमा निर्माण भएको सो होटल विभिन्न कारणले ढिलाइ हुँदा लगानीसमेत बढेको छ। यद्यपि, होटलको लगानी बढेर कति पुग्यो भन्ने यकिन भने जानकारी दिइएको छैन।
-1776155944.jpg)
होटल सञ्चालक शेष घलेले पनि २०८३ को सुरुआतमै सञ्चालनमा ल्याउन लागेको पुष्टि गरे। ‘होटल सञ्चालनमा ढिलाइ भए पनि मुलुकको पर्यटन क्षेत्रका लागि नयाँ प्रडक्टको रुपमा ल्याउने सोच राखिरहेका छौं,’ घलेले भने, ढिला भयो, तर राम्रो हुन्छ।’
होटल सञ्चालनमा आएपछि करिब ५०० भन्दा बढीले रोजगारी पाउने छन्। २२५ वटा कोठा रहने होटल बेसमेन्टबाहेक १७ तलाको रहेको छ। होटलमा दुईहजार जना अट्ने क्षमताको बैंक्वेट हल, दुईवटा सभाहल, तीन वटा बैठक हल, चारवटा रेस्टुरेन्ट, फिटनेस क्लब, स्पा, इन्फिनिटिभ स्विमिङलगायत सुविधा सञ्चालन हुनेछ।
घले निकट एक अधिकारीका अनुसार भौतिक संरचनाको काम सबै सकिएको र अहिले कोठा डेकोरेसनको काम पनि अन्तिम चरणमा पुगेको छ।
सेराटनभन्दा लक्जरी ब्रान्ड ल्याउने तयारी
सम्झौता भएको समयभन्दा सञ्चालनमा ढिलाइ भएपछि अमेरिकी चेन ब्रान्ड सेराटन बाहिरिएको थियो। सेराटन बाहिरिएपछि अहिले घले दम्पत्तीले त्योभन्दा माथिल्लो अर्थात लक्जरी ब्रान्ड ल्याउने गरी आन्तरिक तयारी गरिरहेका छन्।
‘होटलको संरचना तयार भए पनि सञ्चालनमा ढिलाई हुनुको मुख्य कारण पनि नयाँ ब्रान्डकै कारणले हो,’ घले दम्पती निकट ती अधिकारीले भने, ‘धेरै चरणको वार्ता भैसकेको छ, अवको केहि समयमै टुंगो लाग्नेबित्तिकै सञ्चालनको मिति सार्वजनिक हुनेछ।’

को हुन घले दम्पती?
अस्ट्रेलियाको प्रतिष्ठित पत्रिका द अस्ट्रेलियनले सार्वजनिक गरेको सन् २०२६ का सर्वाधिक धनी व्यक्तिको सूचीमा रहेका नेपाली मूलका उद्यमी हुन् घले दम्पती। यस वर्ष उनीहरू क्रमशः १५०औं र १५१औं स्थानमा रहेका हुन्।
उनीहरू लगातार १८ वर्षदेखि उक्त सूचीमा आफ्नो स्थान सुरक्षित राख्न सफल भएका छन्। सन् २००९ मा पहिलोपटक शीर्ष २५० धनीको सूचीमा प्रवेश गरेका उनीहरूले त्यसयता निरन्तर आफ्नो उपस्थिति कायम राख्दै आएका छन्।
उनीहरू एमआईटीका सह–संस्थापक हुन्। सन् १९९६ मा स्थापना भएको एमआईटी मेलबर्न र सिड्नीमा क्याम्पस सञ्चालन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अस्ट्रेलियाको प्रमुख निजी उच्च शैक्षिक संस्थामध्ये एक बनेको छ। विभिन्न विश्वविद्यालयसँगको सहकार्यले संस्थालाई थप विस्तार र विश्वसनीयता दिलाएको छ।
द अस्ट्रेलियनका अनुसार घले दम्पतीको संयुक्त सम्पत्ति करिब १ अर्ब २१ करोड अमेरिकी डलर पुगेको छ। शिक्षा क्षेत्र मुख्य व्यवसाय भए पनि उनीहरू रियलइस्टेट क्षेत्रमा पनि सक्रिय छन्।

मेलबर्नभरि व्यावसायिक सम्पत्तिको ठूलो पोर्टफोलियो निर्माण गरेका उनीहरूले तीमध्ये धेरैमा एमआईटीका क्याम्पस सञ्चालन गरेका छन। नेपालमा जन्मिएका घले र गुरुङ सन १९९० दशकको सुरुतिर अस्ट्रेलिया बसाइँ सरेका थिए।
व्यावसायिक सफलतासँगै उनीहरू सामाजिक र परोपकारी कार्यमा पनि सक्रिय छन्। शिक्षा तथा सामुदायिक परियोजनामा सहयोग गर्नुका साथै बेल्जियम होटल व्यवसायमा समेत उनीहरूको लगानी छ।