काठमाडौं । बैङ्कहरुले व्यवसायीलाइ दिने कर्जाको ब्याजदर क्रमश घट्दै गएको छ । चालु आर्थिक वर्षको साउनमा कर्जाको भारित औसत ब्याजदर कम भएर १२.०८ प्रतिशत कायम भएकाे छ ।
गत वर्षको सोही अवधिमा कर्जाको औसत ब्याजदर १२.४७ प्रतिशत थियो । विस्तारै कर्जाको ब्याजदरमा कमी आएको नेपाल राष्ट्र बैङ्कले जनाएको छ ।
आधारदर (वेसरेट) मा कमी आएपछि बैङ्कहरुको ब्याजदर घटेको हो । साउनमा बैङ्कहरुको आधारदर घटेर ९.४५ प्रतिशतमा झरेको छ । गत आर्थिक वर्षको साउनमा आधारदर १०.१२ प्रतिशत थियो ।
निक्षेप लागत, अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र प्रशासनिक खर्च जोडेर आधार दर तय गरिएको हुन्छ ।
यस्तै ट्रेजरी बिल्सको औसत ब्याजद दर घटेर ०.२१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको साउनमा ९१–दिने ट्रेजरी विलको भारित औसत ब्याजदर ३.३४ प्रतिशत थियो ।
वाणिज्य बैङ्कहरुबीचको अन्तर–बैङ्क कारोबारको भारित औसत ब्याजदर घटेर १.१९ प्रतिशत कायम भएको छ । गत वर्षको साउनमा १.८८ प्रतिशत थियो ।
निक्षेप र कर्जा परिचालन दुबै घट्यो
चालु आर्थिक वर्षको पहिलो महिनामा बैङ्कहरुमा रहेको निक्षेप घटेको छ । यस्तै कर्जा लगानी वृद्धिमा पनि कमी आएको छ । बैङ्कहरुको निक्षेप परिचालन ०.४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप परिचालन ०.४ प्रतिशत घटेको थियो ।
यस्तै कर्जा लगानी वृद्धि कमी आई ०.५ प्रतिशतमा झरेको छ । अघिल्लो वर्षको सोही अवधिमा ०.७ प्रतिशतले कर्जा लगानी विस्तार भएको थियो ।