काठमाडाैं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय २७ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ४ हजार ४ सय एक जनाको नमुना परीक्षण गरिएको थियो । १ हजार ५ सय १८ जनाले पिसिआर र २ हजार ८ सय ८३ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा १ लाख ४३ हजार पाँच सय ९५ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा १ सय ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ९ लाख ८३ हजार ९ सय ४९ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव छ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
हाल सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४ सय ७३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १२ हजार १० पुगेको छ । होम आइसोलेसनमा २ हजार ३ सय ७०, संस्थागत आइसोलेसन १ सय ३, सघन उपचार कक्षमा २२ र भेन्टिलेटरमा तीन जना सङ्क्रमित छन् ।
हाल देशभरमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौं र २ सयभन्दा बढी सङ्क्रमित रहेको जिल्लामा ललितपुर रहेको छ । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, मुग, जुम्ला र बझाङ छन् ।
उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौंमा १ हजार ७२, ललितपुरमा ४ सय ३५ र भक्तपुरमा ३६ सक्रिय सङ्क्रमित छन् । कुलमा सङ्क्रमणदर १६ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।