काठमाडौं। ललितपुरको झम्सीखेलस्थित पाँचतारे होटल ‘भिभान्ता काठमाडौं’ सञ्चालन गरिरहेको आर एण्ड आर होटल्स एण्ड रिसोट्र्स प्राइभेट लिमिटेड वित्तीय संकटमा फसेको छ। बैंकबाट लिएको ८३ करोड रुपैयाँ बराबरको ऋण र त्यसको ब्याज समयमै भुक्तानी गर्न नसकेपछि क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘डिफल्ट’ श्रेणीमा राखेको हो।
इक्रा नेपालका अनुसार कम्पनीले बैंकबाट कुल ८३ करोड रुपैयाँको ऋण सुविधा लिएको छ। यसमध्ये ८१ करोड रुपैयाँ दीर्घकालीन परियोजना ऋण हो भने २ करोड रुपैयाँ अल्पकालीन ओभरड्राफ्ट ९ ऋण हो। कम्पनीले बैंकबाट लिएको ८१ करोड रुपैयाँको दीर्घकालीन ऋणका लागि ‘एलडी’ र २ करोडको अल्पकालीन ऋणका लागि ‘डी’ रेटिङलाई दिएको छ।
रेटिङको क्षेत्रमा ‘डि’ को अर्थ ‘डिफल्ट’ हो। यसको सिधा अर्थ कम्पनीले बैंकलाई तिर्नुपर्ने ऋणको सावाँ र ब्याज तोकिएको समयमा तिर्न असफल भएको छ। रिपोर्टका अनुसार सन् २०२६ को मध्य जनवरीमा सकिएको त्रैमासिक अवधिको भुक्तानीमा ३० दिनभन्दा बढीको ढिलाइ भएपछि यो रेटिङ दिइएको हो।
भिभान्ता काठमाडौँमा नेपालका दुई ठुला व्यावसायिक घरानाको संयुक्त लगानी रहेको छ। यसमा चौधरी ग्रुप र आई जी ग्रुपको मुख्य सेयर हिस्सा छ। सन् २०१४ मा दर्ता भएको यो कम्पनीले झम्सीखेलमा आकर्षक पाँचतारे होटल निर्माण गरी १७ जनवरी २०१९ बाट सञ्चालनमा ल्याएको थियो।
होटलको व्यवस्थापन र सञ्चालन विश्व प्रसिद्ध भारतीय टाटा ग्रुप अन्तर्गतको ‘इन्डियन होटल्स कम्पनी लिमिटेड’ ले १८ वर्षका लागि ‘भिभान्ता’ ब्राण्डमा गरिरहेको छ।
यस्तो प्रतिष्ठित ब्राण्ड र बलिया लगानीकर्ता हुँदाहुँदै पनि होटलले बैंकको दायित्व पुरा गर्न नसक्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ। होटल सञ्चालनमा आएको एक वर्षमै कोरोना महामारी सुरु हुनु यसको मुख्य दुर्भाग्य बन्यो। महामारीका कारण सुरुवाती वर्षहरूमा भएको ठुलो नोक्सानीले कम्पनीको ‘नेट वर्थ’ नै ऋणात्मक (सम्पत्ति भन्दा दायित्व बढी) बनाइदिएको छ।
कम्पनीको वित्तीय सूचकहरू निकै चिन्ताजनक छन्। आर्थिक वर्ष २०२४ मा ३६ करोड ८० लाखको व्यापार गरेको यस होटलको आम्दानी २०२५ मा घटेर ३२ करोड ६० लाखमा झरेको छ। कम्पनीको सञ्चालन नाफाको तुलनामा ऋणको भार १०.९ गुणा बढी छ। यसको सिधा अर्थ होटलको कमाइले बैंकको ब्याज मात्र धान्न पनि मुस्किल परिरहेको छ। महामारीको समयमा थुप्रिएको ब्याजलाई बैंकले ८ किस्तामा तिर्ने गरी पुनर्तालिकीकरण गरिदिएको भए पनि कम्पनीले सो ब्याजको दायित्व पनि पुरा गर्न सकेको छैन।
रिपोर्टका अनुसार अझै करिब २ करोड ३० लाख ब्याज तिर्न बाँकी छ। काठमाडौं उपत्यकामा पछिल्लो एक दशकमा धेरै नयाँ पाँचतारे होटलहरू थपिएका छन्। यसले गर्दा बजारमा तीव्र प्रतिस्पर्धा छ। भिभान्ता काठमाडौं एउटै मात्र लोकेसन (झम्सीखेल) मा सीमित हुनु र अन्य पुराना तथा कम ऋण भएका होटलहरूले मूल्य घटाएर प्रतिस्पर्धा गर्दा भिभान्ताको अकुपेन्सी र रुम रेट दुवैमा दबाब परेको छ।