काठमाडौं। युवा र सरकारबीचको विश्वास बढाउन र प्रमाणमा आधारित नीति निर्माणलाई प्रवर्द्धन गर्न निम्बस र दायित्वबीच साझेदारी भएको छ।
निम्बस र दायित्वबीच शुक्रबार हस्ताक्षर भएकाे हाे। उक्त समझदारी पत्र अनुसार निम्बसले दायित्व नेपाल जन नीति फेलोसिप कार्यक्रमअन्तर्गत २०२३ मा ३ जना फेलोहरूलाई स्पन्सर गर्नेछ।
सन् २०१३ देखि दायित्वले संघीय, प्रान्तीय र स्थानिय तहमा ७४ सरकारी संस्थाहरू र २४ सांसदहरूसँगको सहकार्यमा नीति अनुसन्धानमा सहयोग पुर्याउन विभिन्न ३० वटा देशबाट प्रशिक्षित कुल १६४ दायित्व फेलोहरूको ११ वटा समूहलाई परिचालन गरिसकेको छ।
विश्वव्यापी प्रतिस्पर्धा मार्फत छनोट गरिने रिसर्च फेलोहरुले ३ देखि ६ महिनासम्म सम्बन्धित मन्त्रालयका अधिकारीहरु र विभिन्न नीति तथा अनुसन्धन विज्ञहरुको मेन्टरिङमा, लगानीमा पहुँच, युवा रोजगारी, महिलाको आर्थिक सशक्तिकरण, मूल्य श्रृंखला र शासन सुधार लगायतका विषयवस्तुमा नीतिगत अनुसन्धान गर्नेछन्।
निम्बसका प्रबन्ध निर्देशक आनन्द बगारियाले दायित्व फेलोसिप जस्ता कार्यक्रमले युवा र सरकारबीचको अर्थपूर्ण कुराकानीको ढोका खोल्ने बताए ।
त्यस्तै दायित्वका संस्थापक तथा अध्यक्ष डा. पुकार मल्लले दायित्व फेलोसिपले युवा, सरकार र निजी क्षेत्रबीचको सहकार्य र विश्वासलाई सुदृढ गर्दै देशलाई नवप्रवर्तन, सुशासन र आर्थिक समृद्धिको साझा यात्रामा परिचालन गरेको जानकारी दिए ।
'एक दशकभन्दा लामो समयको प्रयास र अनुभवहरू मार्फत पोख्त दायित्व फेलोसिप नेपाली युवाहरूका लागि एउटा अवसर हो,' उनले भने 'नीति निर्माणको प्रक्रियामा प्रत्येक्ष योगदान पुर्याउनुको साथै फेलोहरुले नेपाल सरकारको नजिक रहेर काम गर्ने सुनौलो अनुभव प्राप्त गर्दछन्।'