काठमाडौं । काठमाडौंको बाँसबारीस्थित बाँसबारी रेष्ट्रो क्याफे एन्ड लजको कोठाभित्र गोप्य रूपमा भिडिओ रेकर्ड गरेको आरोपमा लजका म्यानेजर मुकेश माली पक्राउ परेका छन्।
काठमाडौं चन्द्रागिरि -१५ का ४२ वर्षीय मुकेश मालीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार दिउँसो लजमा बस्न आउने पाहुनाको गोप्य रूपमा भिडिओ रेकर्ड गरेको भन्ने सूचना प्रहरीले पाएको थियो। सूचनापछि महाराजगन्जबाट खटिएको टोलीले चेक गर्दा उनले गोप्य भिडिओ खिचेको खुलेको हो।
‘कोठामा एउटा सानो प्वाल बनाएर पहुनाको गोप्य भिडियो खिच्ने गरेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार लजको हरेक कोठाको ढोकामा प्वाल बनाएको छ ।
प्रहरीले उनको मोबाइल फोन पनि बरामद गरेको छ। उक्त मोबाइलमा व्यक्तिहरूको रेकर्ड गरिएका भिडिओ फेला परेको छ।घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरीले उनको फोन प्रहरी प्रधान कार्यालयको डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ।
कतिपय भिडिओहरू डिलिट गरिएको पाइएको र बाँकि भिडियो कतै पठाएको वा नपठाएको भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
उनलाई जिल्ला प्रशासन कार्यालय, काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति पाएको छ। यसको अनुसन्धान प्रहरी वृत्त महाराजगन्जले गरिरहेको छ।
मालीमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद(५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा म्याद थप गरेको छ।