काठमाडाैं। कार्तिक कृष्ण औँसीका दिन आज लाग्ने ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण बत्तीसपुतलीलस्थित नेपाल एष्ट्रोनोमिकल सोसाइटीको कार्यालयमा देखाइने भएको छ।
सोसाइटीले काठमाडौं, मोरङ र उदयपुरबाट पनि ग्रहण देखाउने कार्यक्रम रहेको सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। नाङ्गो आँखाले ग्रहण हेर्न नहुने भएकाले विशेष प्रकारको चस्मा वा यन्त्रबाट मात्र हेर्न पनि उनले अनुरोध गरे। खाली आँखाले हेर्दा आँखामा समस्या हुन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको सोसाइाटीले जनाएको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज दिउँसो ४:५२ बजे सूर्य ग्रहणले स्पर्श गर्ने जनाएको छ। ग्रहण लागेको ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त हुने समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए। करिब ३२ मिनेटमात्र नेपालबाट ग्रहण देखिने उनले सुनाए। नेपालबाट नदेखिने भएपनि ग्रहणले बेलुकी करिब पौने सात बजे छोड्ने छ।
शास्त्रीय मान्यता अनुसार सोमबार राति ४:५२ बजेदेखि बाल, वृद्ध र बिरामी बाहेक अरूलाई भोजन निषेध गरिएको छ। ग्रहण बार्नेले कात्तिक ९ गते बिहान सूर्योदय नभएसम्म अन्न खान निषेध गरिएको समितिका कार्यकारी निर्देशक उनले बताए। ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधना लगायत कर्म गर्न शुभ मानिन्छ। अन्न खान बाहेक ग्रहण र यसको सूतकका बेला नित्य कर्म गर्न हुन्छ।
ग्रहणका समयमा दीक्षा मन्त्र लिन पनि उत्तम हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन्। ग्रहणका बेला सकेसम्म तीर्थ स्थलमा नसके नजिकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदय लगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। ग्रहणका बेला गर्नु हुने र नहुने कामलाई यी ग्रन्थमा यसरी उल्लेख गरिएको छ।
सूर्य ग्रहणमा चार प्रहर (१२ घण्टा) र चन्द्रग्रहणमा तीन प्रहर (नौ घण्टा) अघिदेखि सुतक लाग्ने धर्मशास्त्रविद् गौतमले सुनाए। सुतक लागेपछि भोजन गर्ननहुने धार्मिक विश्वास छ। यसै विश्वासअनुसार कात्तिक ८ गते बिहान ४:५२ बजेदेखि भोजन गर्नु हुँदैन। 'शास्त्रीय मान्यता अनुसार भोजन निषेध गरिएपनि वैज्ञानिक आधारमा ग्रहणका समयमा भोजन गर्दा कुनै समस्या छैन,' अध्यक्ष भट्टराई भन्छन्।
ग्रहणका समयमा नित्य कर्म गर्नु हुन्छ। घरमा तिथि, श्राद्ध परेमा ग्रहणमा गर्न हुने समितिले जनाएको छ। ग्रहणमा निषेध गरिएकाबाहेक कर्म गर्न हुने जनाइएको छ।