खोटाङ । सडक निर्माणको जिम्मा लिएर अलपत्र पार्ने ठेकेदार कम्पनीको स्काभेटर र ब्याक लोडर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नियन्त्रणमा लिएको छ ।
दिक्तेल–खोटाङ बजार सडक निर्माणको जिम्मा लिएर काम गर्दा गर्दै अलपत्र छाडेपछि निर्माणस्थलमा राखिएको ढुकुछु–बगाले बिएनटी निर्माण कम्पनीको ती सामग्री नगरपालिकाले नियन्त्रणमा लिएको हो । नगरपालिकाले नियन्त्रणमा लिएको ती सामग्री ताल्चा लगाइएको छ ।
नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे र वडा नं १ का वडाध्यक्ष नवराज राईले आइतबार स्काभेटर र ब्याक लोडरमा ताला लगाएका हुन् ।
दिक्तेलस्थित हस्पिटल चोकदेखि लफ्याङको दुबेचिवासम्मको प्याकेजमा ठेक्का लिएको निर्माण कम्पनीका ठेकेदार काम गर्दागर्दै छाडेर सम्पर्कविहीन भएका छन् ।
निर्माणाधीन सडक अलपत्र पारेर ठेकेदार भागेकाले वार्ता गर्न सहज होस् भन्ने उद्देश्यले निर्माण कम्पनीको स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको जनाइएको छ ।
विसं २०७९ पुस २० गतेभित्र सक्ने गरी ५ करोड ६ लाख ५५ हजार पाँच सय ९६ लागतमा विसं २०७८ जेठ २० गते सम्झौता भएको भएको थियो तर, कामै नसकी फिल्ड छाडेर गएपछि सडक निर्माण अलपत्र परेकाले स्काभेटर र ब्याक लोडर नियन्त्रण लिइएको प्रवक्ता घिमिरेले बताए ।
सडक निर्माण अलपत्र छाडेर गएपछि निर्माण कम्पनीसँग सम्बद्ध व्यक्तिको खोजी गर्न र आवश्यक कारबाहीको प्रक्रिया बढाउन नगरप्रमुख तीर्थराज भट्टराई असोज २८ गते संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय हर्कपुरसमेत पुगेका थिए। त्यसपछि पनि गत कात्तिक ३ गते सम्बन्धित निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई पत्रचार गरेको थियो ।
दुबेचिवा–साप्सुखोला प्याकेजको काम भने खर्चरै सुरु भएको स्थानीय बासिन्दाले बताएका छन् । २ करोड ९६ लाख ३७ हजार ५ सय ८६ लागतमा विसं २०७९ माघ १५ गतेभित्र सक्ने गरी सगरमाथा सजिव आरएन जेवीले विसं २०७८ चैत २८ गते सम्झौता गरेको थियो ।
तोकिएको म्याद सकिनुभन्दा दुई महिनाअघिनै सक्ने गरी काम भइरहेको निर्माणमा संलग्न कृष्ण घिमिरेले बताए । अलपत्र सडक छिटो सम्पन्न गराउन ताकेता गर्ने काम भइरहेको सडक डिभिजन कार्यालय हर्कपुरका प्रमुख इन्जिनियर अरुणदेवलाल कर्णले बताए।
यसबाहेक भुते चिरोप्वइन्ट आयुर्वेद सडक स्तरोन्नति र हाटडाँडा–काफ्लेगाउँ–घुम्तीबर सडक स्तरोन्नति अलपत्र पार्ने लगलगे कन्ट्रक्सन चाबहिल, अल्छेढुङ्गा–नेर्पा–दोर्पा सडक स्तरोन्नति अलपत्र पार्ने उत्सव निर्माण सेवालाई काम गराउनुपर्ने भन्दै सघन सहरी तथा भवन निर्माण अयोजनालाई पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने छेपेखोला पुलको जिम्मा लिने सगरमाथा–सजीव–आरएन जेभी पङ्खुखोला पुलको साप–सिरुवा जेभी र भालुखोला, मेवाखोला पुलसँग सम्बद्ध केएम इन्जिनियर विल्डर्सलाई समेत ताकेता गर्न पत्राचार गरिएको जनाइएको छ ।
प्रदेश १ सरकारको १२ करोड ७२ लाख ९२ हजार ४ सय ३७रूपैयाँको लागतमा निर्माणाधीन हुर्लुङ–जालपा सडक पनि अलपत्रै छ । चार महिनामा सक्ने गरी विसं. २०७८ भदौ ३१ गते रौताहा–सुसन आदित्य जेवी निर्माण कम्पनीले सम्झौता भएको थियो ।
दिक्तेल अल्छेढुङ्गा–नेर्पा–दुम्ली सडक स्तरोन्नति पनि निर्माण पनि अपूरै छ । ७७ लाख १६ हजार ४ सय ४८ रूपैयाँ को स्टिमेटमध्ये ४५ लाख १३ हजार ९ सय ६५ रूपैयाँको लागतमा गत असार १६ गते सक्ने गरी विसं २०७८ फागुन २६ गते उत्सव निर्माण सेवा प्रालि पाँचथरले सम्झौता गरेको थियो ।
म्याद सकिँदासमेत काम भने ४० प्रतिशत मात्र सकिएको छ । लगलगे कन्ट्रक्सनले नै ठेक्का लिएको दिक्तेल हाटडाँडा–काफ्लेगाउँ–सडक पनि अलपत्रै छ । ८५ लाख नाँ हजार ९ सय ४० रूपैयाँको योजना स्टीमेटमध्ये ४६ लाख २२ हजारको लागतमा विसं २०७८ असारमा सक्ने गरी लगलगे कन्ट्रक्सन चाबहिल काठमाडौंले विसं २०७८ माघ २० गते सम्झौता गरेको थियो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको २१ करोड १ लाख ८८ हजार रूपैयाँको लागतमा निर्माण थालिएको दिक्तेल–खानीडाँडा–आहाले सडक पनि अपूरै छ । विसं। २०७६ चैत ७ गतेसम्म काम सक्ने गरी याक्थुङहाङ–साप–सिरुवा जेभी निर्माण कम्पनीले विसं २०७५ असोज १ गते सम्झौता गरेको थियो ।
नगर क्षेत्रभित्र सञ्चालित योजनामा ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीलाई कारबाहीका दायरामा ल्याउन खबरदारी गर्ने काम भइरहेको नगरप्रमुख भट्टराईले बताए । १५ वडा रहेको यस नगरपालिकामा ठेकेदार कम्पनीमार्फत निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याइएका अधिकांश योजना गुणस्तरहीन रहेको स्थानीयवासीले आरोप लगाएका छन् । रासस