काठमाडौं । सरकारले व्यक्तिगत रूपमा कोभिड बिमा गरेका सर्वसाधारणलाई मात्र पहिलो चरणमा भुक्तानी दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले चरणबद्ध रूपमा भुक्तानी गरिने तर प्राथमिकतामा सर्वसाधारणलाई राखिएको बताए ।
‘सबैलाई भुक्तानी गरिन्छ, तर प्राथमिकता मात्रै छुट्याइएको हो,’ अर्थमन्त्री शर्माले क्यापिटल नेपालसँग भने, ‘सरकारी कर्मचारीले पहिलो चरणमा बिमा रकम पाउँदैनन् । आफू कार्यरत संस्थाले बिमा गरिदिएका बिमितले पहिलो प्राथमिकतामा छैनन् ।’
उनका अनुसार अर्थ मन्त्रालयले बिमा समितिलाई पत्र पठाएर सरकारको निर्णय कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ । सर्वसाधारणमध्ये पनि कोरोनाको ‘पीसीआर पोजेटिभ’ रिपोर्टका आधारमा पहिला दाबी गर्नेलाई भुक्तानीमा पनि पहिलो प्राथमिकता दिइने शर्माको भनाइ छ ।
सरकारले बाँकी रकम भुक्तानीमा आफ्नो दायित्व रहेको स्वीकार गरिसकेकाले बाँकी रकम पनि विस्तारै भुक्तानी गर्दै जाने र यसपछिका चरणमा मात्रै राष्ट्र सेवक कर्मचारी र संघ-संस्थाले बिमा शुल्क तिरेर कोरोना बिमा गर्नेहरुलाई भुक्तानी दिइने शर्माको भनाइ छ ।
बिमा रकम वितरणका लागि १ अर्ब ८१ करोड ८४ लाख रुपैयाँ उपलब्ध भएको छ । यो रकम सर्वसाधारण आफैंले बिमा गरेकालाई मात्रै दिइने छ । त्यसपछि सरकारले थप रकम निकासा गर्ने र भुक्तानी गर्दै जाने बताइएको छ । सरकारले बिमाबापत भुक्तानी गर्नुपर्ने रकम १२ अर्ब रुपैयाँ पुगेको छ ।
अर्थले कोरोना बिमाको दाबी भुक्तानीका लागि १ अर्ब रुपैयाँ निकासा गरिसकेको छ । सरकारबाट प्राप्त रकमलाई ५५ प्रतिशत मानि बाँकी ४५ प्रतिशत रकम बिमक, पुनर्बिमक र बिमा समितिले बेहोरी भुक्तानी गर्ने पर्ने छ ।