काठमाडाैं। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवारले महाकाली करिडोर र दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहको मुद्दा प्राथमिकताका साथ उठाएका छन्।
नेकपा (एमाले) बाट कञ्चनपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार निरुदेवी पालले सुक्खा बन्दरगाह निर्माण र महाकाली करिडोर निर्माणको काम अगाडि बढाउने बताए।
'महाकाली करिडोर निर्माणका लागि हाम्रो सरकारका पालामा ९८ करोड रूपैयाँ बजेट आएको छ त्यसको काम अहिले ठप्प छ,' उनले भने, 'कञ्चनपुरलाई त्रिदेशीय नाकाका रूपमा विकसित गर्न करिडोर र सुक्खा बन्दरगाह निर्माणको काम गर्ने मेरो प्रमुख एजेन्डा छन्।'
उनले दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण गर्नसके यहाँका थुप्रै मानिसले रोजगारी पाउने बताए।
'दोधारा चाँदनीमा अझै पनि गरिबीको समस्या छ, स्वदेशमै रोजगारी सिर्जना हुने काम गर्छु,' उनले भने, 'समाजमा शान्ति स्थापनापछि दोधारा चाँदनीलाई नमूना सहर बनाउन पहल गर्छौं।' उनले शिक्षा, स्वास्थ्य खानेपानीलगायतका सबै समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको बताए।
त्यसैगरी नेपाली कांग्रेसका उम्मेदवार पूर्वमन्त्री रमेश लेखकले पनि सुक्खा बन्दरगाह र महाकाली करिडोरको काम प्राथमिकतामा राखेका छन्। उनले दक्षिणतिर मित्रराष्ट्र भारतलाई जोड्ने र उत्तरतर्फ मित्रराष्ट्र चीनसँग जोडेर यसलाई यो देशको धेरै ठूलो व्यापारिक औद्योगिक, धार्मिक, पर्यटकीय नाकाका रूपमा विकास गर्ने बताए।
'त्यसका निमित्त हामीले महाकाली नदीमा पुल निर्माण गरिसकेका छौँ, पुल निर्माणको काम त्यही त्रिदेशीय नाका बनाउनका लागि हो,' उनले भने, 'अब दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउने र महाकाली नदीको किनारैकिनार सडक निर्माण गरेर तिब्बतलाई जोड्छौँ।'
निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिएका छन्। निर्वाचन आउन ११ दिन मात्रै बाँकी रहेकाले दलले धेरै मतदातासम्म पुग्ने प्रयास गरिरहेका छन्। रासस