काठमाडाैं । मलेसियाका विभिन्न सहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि मलेसियास्थित नेपाली दूतावासले घुम्ती सेवा सुरू गरेको छ।
दूतावासले नेपाली श्रमिकहरू कार्यरत रहेको सहरमै सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए।
क्वालालम्पुरबाट करिब ४ घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारूमा राजदूत पौडेलले अस्थायी घुम्ती सेवाको बुधबार उद्घाटन गरे। गैरआवासीय नेपाली संघलगायत नेपाली संघ-स्थाहरुसँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरिएको दूतावासको भनाइ छ।
धैरे नेपाली उपस्थित भएको साे कार्यक्रममा २ सय ८० जना श्रमिकले राहदानीसम्बन्धी सेवा लिएका थिए। घुम्ती सेवामा राहदानीसम्बन्धी सेवाका साथै दूतावासबाट प्रवाह गरिने अन्य विभिन्न सेवाहरू पनि प्रदान गरिएको नेपाली दूतावासले जनाएको छ।
घुम्ती सेवा उद्घाटनका क्रममा राजदूत पौडेलले नेपाली श्रमिकहरू कार्यरत कम्पनीहरुको स्थलगत निरीक्षण, सेवा सुविधाबारे श्रमिकहरुसँग अन्तक्रिया तथा सम्बन्धित कम्पनी व्यवस्थापनसँग छलफल पनि गरे।
सुरक्षा गार्ड तथा सरसफाइ कम्पनीहरुमा कार्यरत नेपाली श्रमिकहरुको गुनासो आएपछि उनले कम्पनी व्यवस्थापनसँग छलफल गरेका हुन्।
विशेषत सुरक्षागार्ड र सरसफाइसम्वन्धी श्रमिकको समस्या समाधानका लागि दुई देशबीच भएको श्रम सम्झौता २०१८ र मलेसियाको श्रम कानुनअनुसार व्यवस्थित गर्न लागिएको राजदूत पौडेलले बताए।
उक्त उद्घाटन कार्यक्रममा श्रम काउन्सिलर दीपक ढकाल, द्वितीय सचिव प्रेमबहादुर थापा लगायत दूतावासका कर्मचारीहरू उपस्थित थिए।