काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले गैह्र आवासीय नेपाली संघ (एनआरएनए) का नव–निर्वाचित पदाधिकारी तथा कार्यसमिति सदस्यहरूको सम्मान तथा स्वागत कार्यक्रम आयोजना गरेको छ। सो अवसरमा कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको समग्र विकास, व्यापार प्रवद्र्धन तथा अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रिय पहिचानलाई सुदृढ बनाउने विषय आजको प्रमुख आवश्यकता भएको बताए।
उनले नेपाल प्राकृतिक स्रोत, सांस्कृतिक विविधता र मानवीय सम्भावनाले सम्पन्न भए पनि तिनको प्रभावकारी उपयोग अझै हुन नसकेको उल्लेख गरे । अध्यक्ष अग्रवालले रणनीतिक ढंगले स्रोत परिचालन गर्नुपर्नेमा जोड दिदै नेपाल चेम्बर र एनआरएन बीच सहकार्य आवश्यक रहेको बताए।
उनले मेड ईन नेपाललाई अन्तर्राष्ट्रिय ब्रान्डका रूपमा स्थापित गर्न स्थानीय उत्पादनको प्रवद्र्धन, निर्यात वृद्धि, पर्यटन विकास तथा वैदेशिक लगानी आकर्षण अपरिहार्य रहेको उल्लेख गर्दै सरकार, निजी क्षेत्र र नागरिकबीच सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याए।
त्यस्तै, एनआरएनएका अध्यक्ष डा। हेमराज शर्माले विदेशमा रहेका नेपालीहरूले नेपालको उत्पादन, संस्कृति र पहिचानलाई विश्वसामु पु¥याउन महत्वपूर्ण सेतुको भूमिका खेल्दैै आएको बताउदै नेपालमा लगानीमैत्री वातावरण निर्माणमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहने उल्लेख समेत गरे। उनले दोस्रो र तेस्रो पुस्ताका नेपालीहरूलाई मातृभूमिसँग जोडिराख्न एनआरएनएले अझ प्रभावकारी भूमिका खेल्ने पनि बताए।
कार्यक्रममा नेपाल चेम्बरका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले चेम्बर र एनआरएनएबीच आपसी समझदारी र सहकार्य सुदृढ गर्नुपर्नेमा जोड दिदै नेपालमा लगानी बिस्तार गर्न आग्रह गरे। त्यसैगरी बरिष्ठ उपाध्यक्ष दिपक कुमार मल्होत्राले स्थायी सरकारको गठनसँगै राजनीतिक स्थायित्वको आभाष मिलेको बताउदै निजी क्षेत्रको विकासले गति लिने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहभागीहरूले नेपालको आर्थिक समृद्धिका लागि सामूहिक पहल आवश्यक रहेको उल्लेख गर्दै अवसरहरूको अधिकतम उपयोग गरी समृद्ध नेपाल निर्माणतर्फ अघि बढ्न सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए। कान्तिपथ स्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स र एनआरएनएका पदाधिकारी एवं सदस्यहरुको उपस्थिती रहेको थियो ।