काठमाडौं। मध्यपूर्वमा जारी द्वन्द्वको प्रत्यक्ष असर झेल्दै श्रीलङ्काले घरेलु तरलीकृत पेट्रोलियम ग्यास (एलपिजी) को मूल्य सोमबार झन्डै एक चौथाइले बढाएको छ। यसले आर्थिक रूपमा पुनःउत्थानको प्रयासमा रहेको देशमा थप दबाब सिर्जना गरेको छ।
सरकारले विश्व बजारमा बढ्दो मूल्यलाई कारण देखाउँदै ग्यासको मूल्य वृद्धि गरेको हो। श्रीलङ्का पूर्ण रूपमा ग्यास र तेल आयातमा निर्भर रहँदै आएको छ भने विद्युत् उत्पादनका लागि कोइला पनि बाह्य स्रोतबाट खरिद गर्नुपर्ने अवस्था छ। यस पृष्ठभूमिमा मध्यपूर्वमा लामो समयदेखि जारी युद्धले देशको अर्थतन्त्रलाई पुनः कमजोर बनाउने चिन्ता बढेको छ।
सोमबार गरिएको मूल्य समायोजन गत महिना गरिएको आठ प्रतिशत वृद्धिपछि आएको हो, जसले निरन्तर बढ्दो ऊर्जा लागतको सङ्केत गरेको छ। घरेलु एलपिजी बजारको करिब एक चौथाइ हिस्सा ओगट्ने एक निजी कम्पनीले आफ्नो खुद्रा मूल्य चार हजार ६३० रुपैयाँ (श्रीलङ्काली मुद्रा) बाट २३ प्रतिशतले बढाएर पाँच हजार ७०० रुपैयाँ पुर्याएको छ।
त्यस्तै, राज्य स्वामित्वको प्रमुख आपूर्तिकर्ता लिट्रो ग्यासले १२.५ किलोग्राम सिलिन्डरको मूल्य तीन हजार ९९० रुपैयाँबाट बढाएर चार हजार ७६५ रुपैयाँ निर्धारण गरेको छ। यो १९.४२ प्रतिशतको वृद्धि हो। कम्पनीका प्रवक्ताले अप्रिल महिनाका लागि पर्याप्त आपूर्ति रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय बजारमा एलपिजीको मूल्य वृद्धि र ढुवानी खर्च बढ्नु नै मूल्य समायोजनको मुख्य कारण भएको बताएका छन्।
यसअघि पनि इरानविरुद्ध अमेरिका–इजरायल आक्रमण र त्यसपछि भएको जवाबी कारबाहीका कारण विश्वव्यापी ऊर्जा बजार प्रभावित बनेपछि श्रीलङ्काले इन्धन र बिजुलीको मूल्य एक तिहाइभन्दा बढीले बढाएको थियो।
विशेषगरी, विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने होर्मुज जलडमरूमध्य द्वन्द्वका कारण प्रभावकारी रूपमा बन्द हुँदा कच्चा तेल र ग्यास आपूर्ति प्रभावित भएको छ। सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत ऊर्जा निर्यात यही मार्ग हुँदै हुने गर्छ।