काठमाडाैं। नेपाल पत्रकार महासंघ, एसोसिएट प्रदेश समितिले उकेरा डटकममा प्रकाशित समाचारको विषयलाई लिएर सम्पादक केपी ढुंगानामाथि सामाजिक सञ्जालमा गाली गर्ने क्रियाकलाप भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।
एसोसिएट प्रदेश समितिका महासचिव रोयल आचार्यले विज्ञप्ति जारी गर्दै ढुंगानालाई अश्लिल शब्दहरु प्रयोग गरी अनेकन लाल्छनाहरु लगाउनेलगायतका गतिविधी भइरहेकाे भन्दै त्यसप्रति ध्यानाकर्षण भएकाे जनाएका हुन्।
समाचारका विषयलाई लिएर यस प्रदेश समितिका पूर्व अध्यक्ष समेत रहनु भएका सम्पादक ढुंगानालाई हतोत्साहीत बनाउने गरी गरिएका क्रियाकलापहरु निन्दनिय छन्,' विज्ञप्तिमा भनिएकाे छ।
उकेरा डटकममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले पहिले अमेरिकी नागरिक रहेको र अमेरिकी नागरिकता त्यागे पश्चात पुनः प्रक्रिया पूरा गरेर नेपाली नागरिकता लिनुपर्ने कानूनी व्यवस्था भए पनि सो प्रक्रिया पूरा नगरेको समाचार प्रकाशन भएको थियो।
कुनै एक व्यक्ति वा कुनै राजनीतिक दलको स्वार्थका लागि पत्रकारिता क्षेत्रलाई दबाब दिने र हतोत्साहित बनाउने कार्य हुनु प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएकाे जनाइएकाे छ ।
लामिछानले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिनुपर्ने प्रक्रिया पूरा नगरेर पुरानै नागरिकताका आधारमा आफूले काम गरिरहेको स्वीकार गरिसकेकाे अवस्थामा पनि केही व्यक्तिहरुले सामाजिक सञ्जालको दुरुपयोग गरी पत्रकारमाथि गरिएको व्यवहार तत्काल रोकिनुपर्ने समितिले माग गरेकाे छ ।
संप्रेषित समाचारप्रति चित्त नबुझे या गुनासो रहे त्यसको निरुपणका लागि प्रेस काउन्सिलमा उजुरी दिन सकिने प्रावधान हुँदाहुँदै समुह नै सक्रिय भएरसञ्चारमाध्यम र पत्रकारको साख गिराउने कार्यप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति दिलाउन महासंघ एसोसिएट प्रदेश समितिले अनुरोध गरेकाे छ।