काठमाडौं। नेपाल स्टक ब्रोकर एशोसिएशनले अर्थमनत्री डा. स्वर्णिम वाग्लेलाई आगामी बजेटमार्फत् पुँजीगत लाभकरलाई अन्तिम कर बनाउन माग राखेका छन्। ब्रोकर एशोसिएशनका प्रतिनिधिले अर्थ मन्त्री डा. वाग्लेसँग अर्थ मन्त्रालयमा भेटघाटका क्रममा लाभकरसँगै पुँजी बजार सुधारका ६ बुँदे मागहरू राखेका हुन्।
सोमबार बिहान ९ः४५ बजेदेखि १०ः१५ सम्म मन्त्रालयमा भएको उक्त छलफलमा एशोसिएशनले पुँजी बजारको सुधार र लगानीकर्ताको मनोबल उच्च बनाउन ६ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छन्। एशोसिएशनले मुख्य गरी पूँजीगत लाभकरलाई अन्तिम कर घोषणा गर्नुपर्ने र बजारमा ‘अक्सन मार्केट’ तत्काल सुरु गर्नुपर्नेमा जोड दिएको छ।
भेटघाटका मुख्य बुँदाहरूः
करसम्बन्धी स्पष्टताः आगामी बजेटमार्फत पुँजीगत लाभकर अन्तिम कर हो भन्ने कानुनी सुनिश्चितता गरी लगानीकर्तामा रहेको अन्योल हटाउनुपर्ने।
अक्सन मार्केट र क्लोज आउटः सेयर हस्तान्तरण हुन नसक्दा लगानीकर्ता सीधै २० प्रतिशत जरिवाना (क्लोज आउट)मा पर्ने समस्या समाधान गर्न तत्काल अक्सन मार्केट सञ्चालनमा ल्याउनुपर्ने।
एनआरएनलाई बजार प्रवेशः गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज रुपमा सेयर कारोबार गर्न पाउने व्यवस्था अबिलम्ब मिलाउनुपर्ने।
संस्थागत लगानीमा सहजताः बैंक तथा वित्तीय संस्थाहरूलाई बजार प्रवेश र बहिर्गमनमा सहज बनाउन ६ महिनाको ‘होल्डिङ पिरियड’ सम्बन्धी व्यवस्था परिमार्जन गर्नुपर्ने।
सेटलमेन्ट ग्यारेन्टी फण्डः २०७९ सालमै कार्यविधि बने पनि कार्यान्वयनमा नआएको ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड’लाई नियामक निकायमार्फत तत्काल कार्यन्वयनमा ल्याउनुपर्ने।
सुधार कार्यदलको प्रतिवेदनः पुँजीबजार सुधार कार्यदलले विगतमा दिएका सुझावहरूमध्ये कार्यान्वयन हुन बाँकी बुँदाहरूलाई प्राथमिकताका साथ लागू गर्नुपर्ने।
भेटमा एशोसिएशनका महासचिव मुक्तिराम घिमिरेसहितको टोलीले ५६ लाख लगानीकर्ता र ९२ वटा ब्रोकरहरूको प्रतिनिधित्व गर्दै बजारको समसामयिक समस्याबारे अर्थमन्त्रीलाई जानकारी गराएको थियो। अर्थमन्त्री डा. वाग्लेले यी मागहरूका सम्बन्धमा आवश्यक अध्ययन गरी सकारात्मक कदम चाल्ने प्रतिबद्धता व्यक्त गरेका छन्।