काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको छ । विश्व बैंकले विश्वको अर्थतन्त्र ओरालो लागिरहेका बेला दक्षिण एसियाका मुलुकको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको हो ।
विश्व बैंकले आगामी वर्ष नेपालको वृद्धिदर घटेर ६ दशमलव ४ प्रतिशतमा झर्ने अनुमान गरेको छ । जबकि सन् २०१९ मा ७.१ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । त्यस्तै, दक्षिण एसियाको वृद्धिदर ५.९ प्रतिशत हुने अनुमान विश्व बैंकको छ । तर, सरकारको आर्थिक वृद्धिदरको लक्ष्य भने साढे ८ प्रतिशत छ । उच्च आर्थिक वृद्धि हुने दक्षिण एसियाली मुलुकहरुमा नेपाल चौथो देश हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । । चालू वर्षमा नेपाल दोस्रो स्थानमा रहने विश्व बैंकले जनाएको छ ।
सन् २०१९ अप्रिलको भन्दा पछिल्लो पटक अर्थतन्त्रको वृद्धदर १ दशमलव १ प्रतिशतले सुस्ताएको विश्व बैंकले जनाएको छ । यसले छिटो समयमा अर्थतन्त्र सुधारमा अनिश्चितता ल्याएको विश्व बैंकले भनेको छ । विश्व बैंकको पछिल्लो संस्करण ‘साउथ एसिया इकोनोमिक फोकस मेकिङ डिसेन्ट्रलाइजेसन वर्क’मा विगतमा हुने बलियो घरेलु मागका कारण वृद्धिदर कायम थियो, तर अहिले यो कमजोर बन्दा यसले दक्षिण एसियाली क्षेत्रभरि नै मन्दी ल्याएको जनाएको छ ।
विश्व बैंकका अनुसार पाकिस्तान र श्रीलंकामा आयात क्रमशः १५ र २० प्रतिशतले खुम्चिएको छ । भारतमा घरेलु माग घट्नुका साथै निजी उपभोगिता एक वर्षअघिको ७.३ प्रतिशतबाट अन्तिम चौमासिकमा ३.१ प्रतिशतले झरेको छ । यससँगै निर्माण क्षेत्र पनि २०१९ को दोस्रो चौमासिकको एक प्रतिशतले ओरालो लागेको छ भने अघिल्लो एक वर्षको तुलनामा १० प्रतिशतले घटेको छ ।
‘आयात र औद्योगिक उत्पादनमा देखिएको कमी तथा वित्तीय बजारमा देखिएको तनावले दक्षिण एसियाली क्षेत्रमा ठूलो आर्थिक मन्दीको सङ्केत गरेको छ,’ दक्षिण एसियाली क्षेत्रका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग स्क्याफरले भने, ‘ग्लोबल तथा घरेलु अनिश्चितताले यस क्षेत्रको आर्थिक परिदृश्यलाई धमिलो बनाइरहेको अवस्थामा दक्षिण एसियाली मुलुकहरुले निजी उपभोगिता तथा लगानीलाई बढाउन आफ्नो आर्थिक नीतिमा परिवर्तन ल्याउनुपर्छ ।’