काठमाडौं। काठमाडौं उपत्यकाभित्र सञ्चालित रेस्टुरेन्टले धमाधम बिक्रीका लागि सूचना जारी गर्न थालेका छन्। आर्थिक मन्दीका प्रभावले ग्राहक आउनै छाडेपछि बिक्री सूचना जारी गर्न थालेका हुन्।
रेस्टुरेन्ट सञ्चालकहरू घाटामा व्यापार गरिरहनुभन्दा बिक्री गरेर त्यसकाे विकल्प खाेज्न बाध्य भएकाे बताउँछन्। उनीहरूले रेस्टुरेन्टकाे वैकल्पिक व्यवस्थामा लाग्न उचित हुने बताउँदै सामाजिक सञ्जालमार्फत 'बुस्ट' गरेर रेस्टुरेन्ट बिक्रीकाे सूचना राखिरहेका छन्।
रेस्टुरेन्ट एन्ड बार एसाेसिएन अफ नेपाल (रेबान) का अध्यक्ष अरनिको राजभण्डारीले आर्थिक मन्दीको प्रत्यक्ष प्रभाव रेस्टुरेन्ट क्षेत्रमा परेकाले बाध्य भएर बिक्री गर्न थालेको बताए। उनका अनुसार केही रेस्टुरेन्टबाहेक अधिकांश समस्यामा छन्। सरकारी नीतिकै कारण धराशयी हुँदै व्यवसायबाटै पलायन हुने अवस्था सिर्जना भएको उनले बताए।
घरजग्गादेखि सेयर बजारमा समेत आएको गिरावटको प्रत्यक्ष असर रेस्टुरेन्ट क्षेत्रमा परेको उनकाे भनाइ छ।
'घरजग्गा बिक्री राम्रो हुँदा भेटघाटदेखि मिटिङसमेत रेस्टुरेन्टमा गर्ने गरेको र ठूलो रकम खर्च गर्ने गरे पनि अहिले त्यो शून्यमै झरेको छ,' उनले भने, 'सेयर बजारमा आएको गिरावटले पनि रेस्टुरेन्टमा प्रभाव परेको जस्ताे लाग्छ।'
यससँगै निर्माण क्षेत्रमा पनि मन्दी छाएको छ। लामो समयदेखि सरकारले रकम भुक्तानी नगरेको र नयाँ निर्माणका काम पनि हुन नसक्दा रेस्टुरेन्ट आउने ग्राहक संख्या घट्दै गएको व्यासायी बताउँछन्। अहिले सञ्चालनमा रहेका रेस्टुरेन्टमध्ये ५० प्रतिशत विद्यार्थीका भरमा मात्र रहेको र धेरै खर्च गर्ने ग्राहक आउनै छाडेको तावा रेस्टुरेन्टका सञ्चालक रामकुमार राईको भनाइ छ।
बजारमा पैसा कम भएसँगै रेस्टुरेन्ट जानेको संख्या पनि घट्दै गएको छ। खासगरी कोभिडका बीचमा उपत्यकाभित्र धेरै रेस्टुरेन्ट सञ्चालनमा आएका थिए।तर, पछिल्लो समय बैंक ब्याज अत्यधिक बढेको र थप रकम लगानीसमेत नगरेकाले पनि व्यवसायी समस्यामा परेको बताउँछन्।
अर्कातर्फ, रेस्टुरेन्ट व्यवसायी चर्को घरभाडाका कारण पनि समस्या परेको बताउँछन्। सहरको मुख्य भागमै रेस्टुरेन्ट सञ्चालन हुने र भाडा पनि महँगो हुने हुँदा व्यापारमा मन्दी आएपछि बेच्नुको विकल्प नभएको व्यवसायीको भनाइ छ।
बैंक तथा वित्तीय संस्थाले पनि कोभिडका बीचमा नलिएको ब्याज र साँवा एकैपटक असुल्न थालेपछि झनै समस्यामा रेस्टुरेन्ट परेको बताइन्छ। निर्वाचनपछि बजारमा पैसा आउने आँकलन गरिएकाे थियाे। तर, बजारमा खासै चहलपहल नदेखिएकाे व्यवसायीकाे भनाइ छ।
यतिमात्र हाेइन, पछिल्लो समय सरकारले रेस्टुरेन्टमा सेवा शुल्क अनिवार्य गरिएपछि मेनुमा मूल्यसमेत बढेको छ। मूल्यवृद्धिका कारण पहिला-पहिला खर्च गर्नेको तुलनामा अहिले कम भएको छ। त्यससँगै बजारमा रेस्टुरेन्टका लागि आवश्यक सबै सामानको मूल्य अकासिएकाले पनि समस्या परेको हुनसक्ने उनीहरूकाे ठम्याइ छ।
रोजगारी गुम्ने खतरा
बिक्रीमा राखिएका सबै रेस्टुरेन्ट बिक्री हुन्छन् भन्ने हुँदैन। बिक्री नभएको खण्डमा छाडेर जानुपर्ने बाध्यता हुन्छ। अहिले पनि कतिपय ठाउँमा सटर खाली भइसकेका छन्।
यस्तो अवस्थामा रेस्टुरेन्टबाट आत्मनिर्भर हुँदै आएका सयौंको रोजगारी खोसिने अवस्था आउन सक्ने रेबानका अध्यक्ष राजभण्डारीको भनाइ छ।
उनका अनुसार एउटा रेस्टुरेन्टमा सामान्य अवस्थामा पनि पाँचदेखि आठजनाले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। 'अहिले बिक्रीकाे सूचना हेर्दा धेरै नै समस्या उत्पन्न हुने स्थिति आएकाले बेलैमा यसतर्फ सरकारले ध्यान दिनुपर्ने बेला आएको छ,' उनले भने।