नेपालगञ्ज । खुला सिमानाका कारण भारतीय कापी सहजै नेपालगञ्जमा ढुवानी हुने हुँदा यहाँका गुणस्तरीय कापीसमेत बिक्री हुन छाडेका छन् । यहाँका अधिकांश निजी विद्यालय, बिक्रेताले भारतबाटै भन्सार नतिरी कापी ल्याउने गरेको कारण कापी उद्योग फस्टाउन नसकेको उद्योगीको भनाइ छ ।
बाँकेको नेपालगञ्जका बिक्रेता तथा उपभोक्ताले बिना भन्सार भारतका विभिन्न ठाउँबाट कापी ल्याउने गरेका छन् । खुला सीमा र नियमनकारी निकायले नियमनमा चासो नदेखाउँदा स्थानीय कापी उद्योग फष्टाउन नसकेको इन्डष्ट्रिज प्रालिका प्रबन्ध निर्देशक आशिषराज श्रेष्ठले बताए ।
खुला सिमानाका कारण दिनदिनै ठूलो परिमाणमा रुपैडिहाबाट कापी भित्रिने गरेकाले यहाँको कापी उद्योग चलाउन समस्या भएको उहाँको भनाइ छ । गत एक दशकदेखि सनराइज कापी उद्योग सञ्चालन गर्दै आएका अर्का उद्योगी रामप्रसाद गौतमले भने, “खुला सिमानाले सिर्जना गरेका बाधालाई राज्यले नियमन गरिदिने हो भने स्वदेशी उद्योग राम्रोसँग फष्टाउन सक्छ ।”
खुला सिमानाका कारण चोरी पैठारीबाट भएका कारोबारले यहाँको कापी उद्योग फष्टाउन नसकिरहेको सञ्चालक गौतम बताउछन् । यहाँ अहिलेसम्म तीन वटा कापी उद्योगले उत्पादन गरिरहेका छन् । उद्योग खुल्ने क्रम बढेको छ ।
सञ्चालक गौतमले भने, “नीतिगत समस्या छैन, तर व्यावहारिक समस्याले हाम्रो व्यवसाय चाहेजति फस्टाउन सकिरहेको छैन । भारतीय कम्पनीका कापीको नाम नै तोकेर विद्यालयले अभिभावकलाई खरीदका लागि दबाब दिँदै आएको खुलेको छ । निजी विद्यालयले एकाधिकार लगाएको गुनासो व्यवसायीको छ । यसबाट राजस्व पनि चुहावट भइरहेको छ ।
खुला सिमानाले समस्या पारे पनि नेपालगञ्जमा पछिल्लो समयमा कापी उद्योग थपिँदै गएका छन् । पहाडी जिल्लाबाट माग बढ्दै गएकाले पछिल्ला दिनमा विस्तारै कापी उद्योग फस्टाउन थालेको नेपालगञ्जका पुस्तक व्यवसायी राजु काफ्लेले बताए । व्यवसायी काफ्लेले उपमहानगरपालिकाको भुजई गाउँमा रु पाँच करोडको लगानीमा नयाँ कापी उद्योग स्थापनाको तयारी गरेका छन् ।
सङ्गम पेपर इन्डस्ट्रिज प्रालिका नामबाट उत्पादन हुने कापी यस क्षेत्रका प्रदेश पाँच, कर्णाली र सुदूरपश्चिम प्रदेशमा खपत हुने व्यवसायी काफ्लेको भनाइ छ । दक्ष जनशक्तिमा नेपाली हुने हो भने राम्रो उत्पादन दिनुका साथै रोजगारीको सिर्जना पनि गर्न सकिने सञ्चालकको भनाइ छ । बजार सुनिश्चितता हुने हो भने लगानी बढाएर पनि काम गर्न सकिने उद्योगीको भनाइ छ । कच्चा पदार्थमा भारतसँग निर्भर हुँदा पनि भारतीय उत्पादनलाई चुनौती दिएर बजार विस्तार गर्न उद्योगसक्षम भइसकेको उनीहरुको दाबी छ ।