काठमाडौं। कमला कार्की स्मृति प्रतिष्ठानले काठमाडाैं चन्द्रागिरि नगरपालिकामा बसाेबार गर्ने विभिन्न क्षेत्रका राष्ट्रिय ख्यातिप्राप्त व्यक्तिलाई सम्मान गरकाे छ।
प्रतिष्ठानले चन्द्रागिरिमा बसाेबास गर्ने ख्यातिप्राप्त महिला, राष्ट्रय खेलाडी, महिला पत्रकार र महिला कलाकारलाई मंगलबार सम्मान गरेको हाे।
प्रतिष्ठालने माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाको उपस्थितिमा उनीहरूलाई १५ हजार १ नगद र कदरपत्रबाट सम्मान गरेको हो। सम्मान प्राप्त गर्नेमा उठेर सितार बजाइ विश्वकीर्तिमान कायम गरेकी सीतामैयाँ राजथला, द राइजिङ नेपालकी पत्रकार मञ्जिमा ढकाल र राष्ट्रिय भलिबल खेलाडी रेश्मा भण्डारी छन्।
त्यस्तै महिलासँग सम्बन्धित रहेर काम गर्ने सामाजिक संस्था रेणुका दुलाल स्मरण प्रतिष्ठानलाई नगद १ लाखसहित कदरपत्रबाट सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष माेहन कार्कीले जानकारी दिए।
प्रतिष्ठानले चन्द्रागिरि नगरपालिका–१४ र १५ का सबैभन्दा ज्येष्ठ महिलालाई पनि सम्मान गरेको छ। जसमा ९८ वर्षीया चनमाया महर्जन १ सय १ वर्षीया पम्फादेवी कटुवाल छन्।
सम्मान कार्यक्रममा ललितपुर क्षेत्र नम्बर २ का सांसद रामकृष्ण चित्रकार, चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी, वरिष्ठ साहित्यकार तथा सञ्चारकर्मी डा. नवराजलम्साल, डा. सुभाष घिमिरेलगायत उपस्थित थिए।
प्रतिष्ठानले विगतदेखि नै बर्सेनि राष्ट्रिय ख्याति कमाएका महिला तथा महिलासँग सम्बन्धित रहेर काम गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको छ।