काठमाडौं। देशभरका निर्माण व्यवसायीको संस्था नेपाल निर्माण व्यवसायी महासंघ(एफ्क्यान)काे १३औं महाधिवेशनबाट नयाँ नेतृत्व छान्न आज मतदान हुँदै छ।
वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा र निर्माण व्यवसायी निकोलस पाण्डेले आ–आफ्नो समूहसहित उम्मेदवारी घोषणा गरेकाले दुई समूहबीच प्रतिस्पर्धा हुने निश्चित छ।
प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ। अधिवेशनबाट आगामी तीन वर्षका लागि ५१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ।
लामा पीएस कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक हुन् भने पाण्डे कालिका कन्सट्रक्सनका निर्देशक । उनीहरु प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन्।
लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ चुनावी मैदानमा उत्रिएका छन्। लामाले सार्वजनिक खरिद ऐन संशोधनलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। महासचिवका उम्मेदवार घिमिरे यसअघि पनि महासंघमा उपमहासचिव पदमा रहेर काम गरिसकेका छन्।
पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धीरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन्। पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याका लागि सरकारसँग बहस गर्ने र सार्वजनिक खरिद ऐनका दफा खारेजका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल र रामजी पन्त (मुकेश) प्रतिस्पर्धामा छन्। उपाध्यक्षतर्फ एसोसिएटमा नरहरि थपलिया र एनपी शेर्पा चुनावी मैदानमा छन्।
महासचिवका लागि बलिभद्र राना र शिवहरि घिमिरेको उम्मेदवारी मनोनयन दर्ता भएको छ। घिमिरे महासंघको उपमहासचिव पदमा रहेर काम गरिसकेका हुन्।
प्रमोद लामिछानेले स्वतन्त्र रूपमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्। निर्माण क्षेत्रमा २८ वर्षको लामो अनुभव सँगालेका लामिछानेले नेपाल सरकारी स्वामित्वको राष्ट्रिय निर्माण कम्पनी (एनसीसीएन)मा ६ वर्ष व्यवस्थापन तहमा काम गरिसकेका छन्।
यस्तै, उनले सार्वजनिक खरिद ऐन र निर्माण क्षेत्रका नीतिगत समस्या समाधानमा आफ्नो विज्ञता रहेको दाबी गर्दै चुनावी एजेन्डा अघि सारेका छन्। सोही पदमा मंगल शाही अशोककुमार केसी र राजकुमार बास्ताकोटी पनि प्रतिस्पर्धामा छन्।
उपमहासचिवमा इन्जिनियर सन्तोष साह, चन्द्रशेखर मल्ल र सुवित श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ। कोषाध्यक्ष पदका लागि बालाजु श्रेष्ठ र उज्ज्वल गौतम प्रतिस्पर्धामा छन्। सह–कोषाध्यक्ष पदमा उपेन्द्रकुमार घिसिङ र दिनेशबहादुर सिंह चुनावी मैदानमा छन्।