काठमाडौं । सञ्चालनमा रहेका २८ ओटै वाणिज्य बैंकहरुले क्रसहोल्डिङको विवरण नेपाल राष्ट्र बैंकमा बुझाएका छन् । राष्ट्र बैंकले क्रसहोल्डिङ लगानीको विवरण मागेपछि बैंकहरुले ढिलो गरी बुझाएका हुन । केन्द्रीय बैंकले वाणिज्य बैंकहरुलाई फोर्स मर्जर गराउन यस्तो विवरण माग गरेको हो ।
बैंकहरुले पहिलो चरणमा बुझाएको विवरण संस्थागत लगानीकर्ताको मात्रै आएपछि केन्द्रीय बैंकले व्यक्तिगत लगानीकर्ताको बिबरण पनि खुलाउन भन्दै बैंकहरुलाई पुन पत्राचार गरेको थियो ।
पछिल्लो पटक पठाएको विवरण राष्ट्र बैंकले निर्देशन दिएअनुसार नै आएको राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालले बताए । ‘अहिले त बैंकले हामीले भने जस्तै विवरण पठाएका छन्’ कार्यकारी निर्देशक ढकालले क्यापिटल नेपालसँग भने ‘विवरणको विस्तृत अध्ययन भने हुन बाँकी भएकाले तिहारपछि अध्ययन रिपोर्ट आउने छ ।’ तिहारपछि मात्र क्रसहोल्डिसको अध्ययन गरिने उनले जानकारी दिए ।
राष्ट्र बैंकले साउन १५ गते एकै व्यक्ति वा समूहको लगानी भएका बैंहरूको क्रसहोल्डिङको विवरण पठाउन बैंकहरूलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकले ०.५ प्रतिशतभन्दा बढी सेयर होल्डिङ भएका बैंक तथा वित्तीय संस्थाका संस्थापकको लगानी विवरण मागेको थियो । बैंक तथा वित्तीय संस्थामा अधिकांश उद्योगी तथा व्यवसायीको सेयर लगानी छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा ०.५ प्रतिशतभन्दा बढी सेयर हुने सेयरधनीको नामावलीसहित रोक्का रहेको सेयर विवरण र संस्थापकबाट लगानी भएको चुक्ता पुँजीको विवरण पनि एकैसाथ बुझाउन निर्देशन दिएको थियो ।
यसअघिको विवरण अनुसार सबैभन्दा बढी क्रसहोल्डिङ कर्मचारी सञ्चय कोषको छ । सञ्चय कोषको एक दर्जन बैंकमा संस्थापक र सर्वसाधारण गरी झन्डै ७ अर्ब रुपैयाँ सेयर लगानी छ । संस्थागत लगानीकर्ताका साथै सरकारी संस्था भएकाले सञ्चय कोषलाई क्रसहोल्डिङ लागू नहुने केन्द्रीय बैंकले जानकारी दिएको छ । केन्द्रीय बैंककाअनुसार प्राकृतिक व्यक्तिमा मात्र क्रस होल्डिङस लागू हुने छ ।
मर्जरमा जान दबाव दिनका लागि केन्द्रीय बैंकले क्रसहोल्डिङ छानबिन गर्न लागेको हो । क्रसहोल्डिङको विस्तृत विवरण आएपछि राष्ट्र बैंकले फोर्स मर्जरको प्रक्रिया अघि बढाउने अनुमान गरिएको छ । एउटै प्राकृतिक व्यक्तिको ५ ओटा बैंकमा संस्थापक सेयर लगानी रहेको छ ।