काठमाडौं। यातायात र सवारी सुरक्षासँग सम्बन्धित सरोकारवालाहरुले दुई पांग्रे सवारीमा सवार गर्नेहरुलाई पनि हेल्मेट प्रयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएका छन्।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मंगलबार उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री नारायाणकाजी श्रेष्ठसँग भएकाे छलफलमा उनीहरूले त्यस्ताे सुझाव दिएका हुन्।
ऐनमा प्रष्ट लेखिएको बताउँदै उनीहरूले दुई पाङ्ग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप (हेल्मेट) अनिवार्य लगाउनुपर्ने बताए। मोटरसाइकल र स्कुटरमा पछाडि बस्ने यात्रुले र साइकल यात्रुले हेल्मेट नलगाउँदा दुर्घटना र जीवन जोखिममा पर्ने गरेकाे बताउँदै उनीहरूले भने,' त्यसैको न्यूनीकरणका लागि हेलमेटकाे गर्नुपर्छ।'
भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा भएको छलफल श्रेष्ठले नागरिक स्वयंले हेल्मेटले दिने सुरक्षाको महत्त्व बुझ्नुपर्ने भएकाले यसका लागि जनचेतनामुलक कार्यक्रम जरुरी भएको बताए। उनले भने, 'जीवन सुरक्षा सामाजिक सुरक्षा पनि हो। नागरिकलाई त्यसका लागि उत्प्रेरित गर्ने दिशामा हामी छौं।'
छलफलमा सहभागी एमाले नेता, सांसद एवं रोड सेफ्टी एलायन्सुका कोअर्डिनेटर योगेश भट्टराईले धेरैजसो दुर्घटनामा दुई पाङ्ग्रे साधननै पर्ने गरेकोले आवश्यक सुरक्षामा लापरबाही गर्दा युवा पुस्ताले अनाहकमा ज्यान गुमाउनुपरिरहेको बताए। रोड सेफ्टी काउन्सिलु निर्माण गर्नसमेत अनिवार्य भैसकेको, अन्तर्राष्ट्रिय रुपमै हेल्मेट बाध्यकारी हुँदै गएको र यसका लागि आम जनचेतना हुनुपर्ने उनकाे भनाइ छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. समीर अधिकारीले कूल दुर्घटनाको ६९ प्रतिशत दुर्घटना दुई पाङ्ग्रे साधनको हुने गरेको एक अनुसन्धान तथ्यांक सुनाउँदै हेल्मेट अनिवार्यताको कुरा आउँदा गलत अर्थ लगाइने गरेको बताए।
झण्डै २५ वर्ष अगाडि प्रहरीले हेल्मेट अनिवार्य गर्ने नियम ल्याउँदा त्यसलाई विवादित बनाइएपछि बीचमै रोकिएको थियो। प्रहरी नायब महानिर्देशक (डिआइजी) मीरा चौधरीले आफ्नो सुरक्षाको अपनत्व स्वयं जनताले नै नलिएसम्म नियमहरू लागू गर्न सहज नहुने बताइन्।
विश्व स्वास्थ्य संगठनका प्रतिनिधि ग्याम्पो दोर्जीले डबल हेल्मेटुको प्रचलन अन्तराष्ट्रिय रुपमै अनिवार्य भैसकेको तर हेल्मेट भने गुणस्तरीय हुनुपर्ने बताए। छलफलमा भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा सहित विभिन्न विभाग प्रमुख तथा निकायका प्रतिनिधिहरूको उपस्थिति थियो।