काठमाडौं। वन तथा वातावरण र कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरी र पूर्व मन्त्री माधवप्रसाद चौलागाई बिच भेटवार्ता भएको छ। मन्त्री चौधरी र चौलागाईबीच मंगलबार वन मन्त्रालयमा भेटवार्ता भएको हो। उक्त भेटमा पूर्व मन्त्री चौलागाईले आफ्नो कार्यकालको प्रतिवेदन मन्त्रीलाई बुझाउनुका साथै वनका नीतिगत समस्या, विकाससँगै वन संरक्षण लगायत विषयमा छलफल भएको हो।
पूर्व मन्त्री चौलागाईले आफ्नो कार्यकालमा भएका मन्त्रालयका कार्यक्रम प्रभावकारी बन्दै, डिजिटलाइजेशनदेखि जलवायु व्यवस्थापनसम्म प्रगति भएको मन्त्री चौधरीसँग छलफल भएको छ। वन मन्त्रालयले पछिल्लो समय डिजिटलाइजेशन, जलवायु परिवर्तन व्यवस्थापन तथा वन क्षेत्रको दिगो विकासका क्षेत्रमा उल्लेखनीय प्रगति गरेको जनाएको छ।
चौलागाईले डिजिटल प्रणाली सुदृढ गर्न सम्बन्धी प्राविधिक तालिम सञ्चालन गरी आंशिक रूपमा कार्यान्वयन सुरु गरिएको छ। साथै, सुशासन र दिगो सुधारका लागि कार्य योजना बनाएर कार्यान्वयनमा ल्याइएको छ।
वन डढेलो जोखिम न्यूनीकरणका लागि बिमा कार्यक्रममार्फत जनधनको क्षति न्यूनीकरण गर्ने पहल गरिएको छ। राष्ट्रिय बाघ गणना सम्पन्न भई तथ्याङ्क विश्लेषणको चरणमा पुगेको छ। वन तथा जैविक विविधता संरक्षणका क्षेत्रमा विभिन्न प्रकाशन, अनुसन्धान तथा इन्टर्नसिप कार्यक्रम सञ्चालन गरिएको छ।
त्यसैगरी, स्थानीय तहसम्म वन क्षेत्रसम्बन्धी नक्सा तथा जानकारी सहज रूपमा उपलब्ध गराउन वेब पोर्टल सञ्चालनमा ल्याइएको छ। मन्त्रालयले जैविक विविधता सम्बन्धी सातौँ राष्ट्रिय प्रतिवेदन अन्तर्राष्ट्रिय निकायमा पेस गरिसकेको छ भने राष्ट्रिय निकुञ्ज व्यवस्थापन हस्तान्तरण प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जनाएको छ।
मन्त्रालयले सीमित स्रोत, संरचनागत चुनौती तथा जटिल परिस्थितिका बाबजुद नीति सुधार, सेवा प्रवाह र विकास आयोजनामा सुधार ल्याउने प्रयास जारी रहेको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी परिणाम आउने चौलागाईले विश्वास व्यक्त गरेको छ। मन्त्री चौधरीले वन संरक्षण गर्दै विकासमा आइपर्ने नीतिगत विषयलाई फुकाउँदै जाने बताइन्।