काठमाडौं। पाँच वर्षका लागि वीरगन्ज सुक्खा बन्दरगाह व्यवस्थापन जिम्मा लिएको ‘प्रिस्टिन भ्याली’ ले दुई वर्ष ठूलो नोक्सानी बेहोरेको छ।
कोरोना भाइरस महामारी र सरकारको आयात प्रतिबन्धका असर प्रिस्टिन भ्यालीले बेहोर्नुपरेको हो। सरकारले प्रिस्टिन भ्यालीसँग गरेको सम्झौताअनुसार न्यूनतम ‘थ्रेसहोल्ड’ समेत कटेको छैन।
सरकारले प्रिस्टिन भ्यालीलाई पहिलो वर्ष ११ लाख २१ हजार टन, दोस्रो वर्ष ११ लाख ९६ हजार, तेस्रो वर्ष १२ लाख ६७ हजार, चौथो वर्ष १३ लाख ४२ हजार र पाँचौं वर्ष १४ लाख २२ हजार टन ‘बल्क कार्गो’ आउने ‘ग्यारेन्टी’ गरेको थियो।
तर, सरकारसँग भएको सम्झौताअनुसार बल्क कार्गो आएको छैन। प्रिस्टिन भ्यालीले उपलब्ध गराएको तथ्यांकअनुसार पहिलो वर्ष ८ लाख ९४ हजार टन र दोस्रो वर्ष ८ लाख टनमात्रै बल्क कार्गो आएको छ।
यो भनेको पहिलो वर्ष २०.२५ प्रतिशत र दोस्रो वर्ष ३३.११ प्रतिशत कम कार्गो आएको देखिएको हो। अहिले तेस्रो वर्ष चलिरहेको छ।सुक्खा बन्दरगाह व्यवस्थापक प्रिस्टिन भ्यालीले पहिलो वर्ष ५० हजार, दोस्रो वर्ष ५५ हजार १ सय, तेस्रो वर्ष ६० हजार ३ सय, चौथो वर्ष ६६ हजार र पाँचौं वर्ष ७२ हजार ३ सय कन्टेनर आउने ग्यारेन्टी सरकारले गरेको जनाएको छ।
कन्टेनरका हकमा भने सरकारले तोकेको न्यूनतम थ्रेसहोल्ड कटेको छ। पहिलो वर्ष ६१ हजार ३ सय ८८ र दोस्रो वर्ष ६३ हजार १ सय ९८ कन्टेनर सुक्खा बन्दरगाह आएका छन्। अहिले तेस्रो वर्ष चलिरहेको छ।
प्रिस्टिनका अनुसार पहिलो वर्ष कन्टेनर संख्या २२.७८ प्रतिशत र दोस्रो वर्ष १४.७ प्रतिशतले वृद्धि भएको छ। प्रिस्टिनका कमर्सियल अफिसर विकास शर्माले बल्क कार्गो वीरगन्ज सुक्खा बन्दरगाहबाट ल्याउन सके अहिलेको नोक्सान थोरै भए पनि कम गर्न सकिने र त्यसका लागि सरकारले सहजीकरण गर्नुपर्ने बताए।
‘बल्क कार्गोका हकमा थ्रेसहोल्डसमेत कटेको छैन। सरकार र हामीबीच भएको सम्झौतामै थ्रेसहोल्ड काट्ने उल्लेख छ,’ शर्माले क्यापिटल नेपालसँग भने, ‘तर, ठेक्का सम्झौता गरेको वर्षदेखि नै हामी नोक्सानमा छांै। भारत सरकारले रक्सौलबाट बल्क कार्गो ल्याउन रोकिसकेकाले यहाँबाट ल्याउन दिए राहत हुन्छ।’
वीरगन्ज एकीकृत जाँच चौकीका प्रमुख कमल ज्ञवालीले भारत रक्सौलदेखि सिधै आइसिपीसम्म बल्क कार्गो आउन सुरु गरेको जानकारी दिए।
आइसिपीसम्म रेलमा ल्याएको र त्यहाँबाट कोइला बोकेका १ सय ७६ गाडी र मल बोकेका १ सय ४१ गाडी बाहिरिएको उनले जानकारी दिए। अहिले वीरगन्ज सुक्खा बन्दरगाहले आइसिपीमा जाने बल्क कार्गो आफूमातहत ल्याउन सम्पूर्ण तयारी पूरा गरेको हो।
नेपाल आउने ‘डस्टी कार्गाे’ रक्सौलमा ‘ह्यान्डलिङ’ भएर नेपाल आउने गरेकामा त्यसलाई रेलबाट सिधै वीरगन्ज सुक्खा बन्दरगाह आएर ह्यान्डलिङ गर्न बन्दरगाहले चाहेको छ। त्यसमा इन्टरमोडल यातायात विकास समितिले पनि सहमति दिएको छ।
वीरगन्ज महानगरपालिकाबाट सहमति लिई व्यवसायीलाई समेत जानकारी गराएको कार्यालयले जनाएको छ। खरानी, कोइला, मल, क्लिंकर, जिप्सम, नुन, फलामलगायत सामान डस्टी कार्गोका रूपमा आउने गरेका छन्। भारतबाट सिधै रेलमा आएको सामान आइसिपीमा झारेर ट्रकबाट अन्य ठाउँमा पठाइने छ।
आइसिपीभित्र सानो ठाउँ भएकाले सबै प्रकारका सामान एकै ठाउँमा राख्न उपयुक्त नहुने आइसिपीको धारणा छ। यदि उक्त सामान सुक्खा बन्दरगाहमा लैजाने हो भने आइसिपीले अन्य सेवा प्रभावकारी सञ्चालन गर्न पाउने बताइरहेको छ।