काठमाडौं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे छ महिनामा अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु सकारात्मक देखिएका छन्।
सामान्य रूपमा महँगी पनि घटेकाे छ यद्यपी पुसमा देखिएकाे महँगी गत वर्षकाे भन्दा बढी हाे। २०७९ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२६ प्रतिशत छ। यसअघि चालू वर्ष भदाैमा महँगी दर ८.६४ प्रतिशत पुगेकाे थियाे।
अघिल्लो वर्ष पुस महिनामा मुद्रास्फीति ५.६५ प्रतिशत थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.५७ प्रतिशत रहेको छ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेस्टुरेन्ट तथा होटल उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १५.५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको ९.७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५६ प्रतिशत, र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उप– समूहको मूल्य सूचकांक १६.४३ प्रतिशत, स्वास्थ्यको ११.२२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको ८.७६ प्रतिशत, विविध वस्तु तथा सेवाको ८.६८ प्रतिशत र फर्निसिंङ तथा घरायसी उपकरणह?को ८.३३ प्रतिशतले बढेको छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.९३ प्रतिशत, तराईमा ७.४९ प्रतिशत, पहाडमा ७.३० प्रतिशत र हिमालमा ६.६९ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७८ पुस महिनामा यी क्षेत्रहरुमा क्रमशः ५.२८ प्रतिशत, ६.१५ प्रतिशत, ५.३४ प्रतिशत र ५.२२ प्रतिशत मुद्रास्फीति रहेको थियो।
थोक मुद्रास्फीति
२०७९ पुस महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.८२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ४.४७ प्रतिशत, १३.८० प्रतिशत र ४.५० प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि १०.६७ प्रतिशत रहेको छ।
तलब तथा ज्यालादर सूचकांक
२०७९ पुस महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक १०.२७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक ५.७७ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकांक र ज्यालादर सूचकांक क्रमशः १२.३९ प्रतिशत र ९.६४ प्रतिशतले बढेको छ।