वीरगञ्ज। चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा पर्सामा सात हजार ९ सय ४१ करदाता थपिएका छन् ।
आन्तरिक राजस्व कार्यालय वीरगञ्जका अनुसार चालू आवको साउनदेखि पुस मसान्तसम्ममा प्यानतर्फ पाँच हजार पाँच सय ९२, आयकरतर्फ एक हजार ६ सय ७४, मूल्य अभिवृद्धि करतर्फ पाँच सय २२ तथा अन्तःशुल्कतर्फ एक सय ३३ करदाता थपिएका छन् ।
योसँगै पर्सामा करदाताको सङ्ख्या १ लाख २४ हजार तीन सय पाँच पुगेको आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी तथा कर अधिकृत सञ्जय सरदार क्षेत्रीले जानकारी दिए । पर्सामा प्यानतर्फ सबैभन्दा बढी ७९ हजार २३, आयकरतर्फ ४० हजार चार सय १०, मूल्य अभिवृद्धि करतर्फ १० हजार एक सय ३६ तथा अन्तःशुल्कतर्फ एक हजार नौ सय ५१ करदाता छन् ।
यसैबीच बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगर्दा चालू आव २०७९/८० को छ महिनाको अवधिमा आन्तरिक राजस्व कार्यालय वीरगञ्जको राजस्व सङ्कलनमा कमी आएको छ ।
सो कार्यालयका अनुसार चालु आव २०७९/८० को छ महिनाको अवधिमा ४ अर्ब ७३ करोड १६ लाख रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा ६६ दशमलव ६१ प्रतिशत अर्थात ३ अर्ब १५ करोड १६ लाख रुपैयाँमात्र सङ्कलन भएको छ ।
चालू आवको छ महिनामा अन्तःशुल्कतर्फ १ अर्ब ३१ करोड ९५ लाख २९ हजार रुपैयाँ, आयकरतर्फ १ अर्ब चार करोड ८८ लाख ६९ हजार रुपैयाँ, मूल्य अभिवृद्धिकर तर्फ ७३ करोड ६७ लाख ६६ हजार रुपैयाँ, ब्याजकरतर्फ २ करोड ४० लाख २३ हजार र घरबहाल करतर्फ २ करोड २४ लाख ९९ हजार रुपैयाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी क्षेत्रीले जानकारी दिए ।
बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह नगरेको तथा विभिन्न सामानको आयातमा सरकारले गरेको प्रतिबद्धलगायतका कारणले राजस्व सङ्कलन घटेको क्षेत्रीको भनाइ छ ।
आव २०७८/७९ मा सो कार्यालयले रु नौ अर्ब ४४ करोड ४५ लाख ७५ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा लक्ष्यको ९२ दशमलव ३० प्रतिशत अर्थात् ८ अर्ब ७१ करोड ६९ लाख ६० हजार रुपैयाँ सङ्कलन गरेको थियो ।रासस