काठमाडौं । ग्लोबल आइएमई बैंक र जनता बैंक औपचारिक रुपमा एक आपसमा गाभिने (मर्जर) मा जाने भएका छन । मर्जरमा जानका लागि ग्लोबल आईएमई र जनताबीच शुक्रबार अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ग्लोबलका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जनताका अध्यक्ष केशबबहादुर रायमाझीले मर्जर सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन । दुबै बैंकले सम्झौतापत्रमा हस्ताक्षर गरेकाले मर्जरमा जाने निश्चित भएको हो । जनताको १०० सेयर बराबर ग्लोबल बैंकमा ८५ हुनेछ ।
दुबै बैंकले वार्षिक साधारणसभाबाट मर्जर सम्बन्धि प्रस्ताव पारित गरेपछि ग्लोबल आईएमई बैंकको नाममा एकिकृत वित्तीय कारोबार हुनेछ ।
सो अवसरमा ग्लोबल आइएमईका अध्यक्ष ढकालले सरकार र नेपाल राष्ट्र बैंकको ठूला वित्तीय संस्थाहरुको मर्जरसम्बन्धी नीति कार्यान्वयनमा सहयोग पुग्ने गरी मर्ज भएको बताए । मर्जपछि ग्लोबल आईएमई ७७ जिल्लामै शाखा संजाल भएको नेपालकै सबैभन्दा ठूलो बैंक बन्न सफल हुने दावी गरे ।
ग्लोबल आइएमई बैंक मर्जरमा सधैं अग्रपंक्तिमा रहेको बताउँदै अध्यक्ष ढकालले यसअघि १० वटा विभिन्न वित्तीय संस्थासँग र जनताले ७ वटासँग मर्ज गरिसकेकोले यो १८ औं मर्ज रहको र यो वित्तीय क्षेत्रमा नयाँ कीर्तिमान भएको बताए । यसअघि ग्लोबलले कमर्ज एन्ड टस्ट बैंकलाई प्राप्ति गरेको थियो ।
जनता बैंकका अध्यक्ष रायमाझीले देशको उत्कृष्ट वित्तीय संस्था स्थापना गर्ने योजना र नीति बमोजिम ग्लोबल आइएमई बैंकसँग राष्ट्र बैंकको सहमति लिएर मर्जमा जाने निर्णय गरिएको बताए ।उनले ग्लोबल बैंकसँगको मर्जरका सम्पूर्ण प्रक्रिया टुंगो लागिसकेकाले चाँडै संयुक्त कारोबार हुने जानकारी दिए ।
यी दुई बैंकले गतअसार २० गते मर्जरका लागि प्रारम्भिक सहमतीपत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष ढकाल हुने सहमति भएको छ । यस्तै सञ्चालक समितिमा ग्लोबलको तर्फबाट ५ जना र जनताको तर्फबाट २ जना रहने सहमति भएको छ ।
त्यस्तै मर्जरपछि बन्ने बैंकको सीईओ परशुराम कुँवर क्षेत्री रहने छन । मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । संयुक्त बैंकको चुक्ता पुँजीकरिब १९ अर्ब, कुल निक्षेप २ खर्ब १२ अर्बभन्दा बढी र कुल कर्जा लगानी २ खर्ब रुपैयाँ पुग्नेछ ।