काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले लामो समयदेखिका शृंखलाबद्ध कमजोरी र गल्तीका कारणले अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै महामन्त्री थापाले बहुआयामिक समस्याका कारणले नागरिक तहमा चौतर्फी असन्तुष्टि पैदा भएको बताए।
राजनीतिक नेतृत्व विभिन्न चुनावकै नामम खुसियाली मनाइरहँदा नागरिक तहका भने तीव्र असन्तुष्टि रहेको उनको भनाइ छ।
“नागरिक तहमा यति धेरै असन्तुष्टि छ कि उनीहरू सरकारलाई पाँच वर्ष कुर्न तयार छैनन्। कम्तीमा पाँच महिनामा सरकारले सुधारको संकेत दिनुपर्छ र नागरिकले यो कुरा महसुस गर्नैपर्छ”, उनले भने।
अर्थतन्त्रमा चौतर्फी समस्या छन्। यी समस्या कागजमा प्रकट हुने अक्षरमात्र नभएर प्रत्येक नागरिकले नै अनुभव गरेको कुरामा सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल तयार हुनुपर्ने उनको भनाइ छ।
“अहिलेका तथ्यांक जेजस्ता भए पनि नागरिकस्तरमा नकारात्मक बुझाइ रहेको छ। यो कुरा प्रधानमन्त्रीले बुझ्नुपर्छ। डराउनुपर्ने प्रधानमन्त्री हो। अहिले ज्वरो आएको छ तर तत्कालै निको हुने अवस्था छैन। यो बेलामा नेतृत्वले लक्षण र रोगकै उपचार गर्छु भनेर प्रतिबद्ध हुनुपर्छ”, उनले भने।
कुनै पनि मन्त्रीभन्दा पनि प्रधानमन्त्रीले समस्याका बारेमा जानकार भएर समाधानका लागि उन्मुख हुनुपर्ने उनको भनाइ छ।
अहिले बनेको गठबन्धन सरकारले परिणाम दिन सकेन भने यो देशको पाँच वर्ष वर्वाद हुने थापाले बताए।
कार्यक्रममा अर्थशास्त्री डा. गोविन्द नेपालले अहिले नेपाली अर्थतन्त्र चौतर्फी समस्यामा रहेको बताए। “अर्थतन्त्रको अवस्था थप चिन्ताजनक देखिन्छ। केही तथ्यांकमा राम्रो देखिए पनि जनजीवनमा संकट देखिन्छ।
कुनै सूचकमा नेपालको अवस्था राम्रो छैन। भ्रष्टाचारदेखि लगानीसम्मका कुनै पनि सूचक राम्रा छैनन्”, उनले भने। सकारले निर्मम भएर निर्णय लिनुपर्ने समय आएको उनको भनाइ छ।