काठमाडाैं। चालू आर्थिक वर्षको ८ महिनामा लाभांशवापत करिब साढे १३ अर्ब रूपैयाँ बिदेसिएको छ। उद्योग विभागका अनुसार चालु आवको फागुन मसान्तसम्म १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३ सय २४ रूपैयाँ लाभांशवापत रकम फिर्ताको सिफारिस गरेको हो।
विभागले ८ महिनामा रोयल्टीबापत २ अर्ब ८ करोड ९३ लाख ९७ हजार १ सय ७ रूपैयाँ, ११ लाख ४८ हजार ७६० अमेरिकी डलर, ३० करोड ४७ लाख ५० हजार ८ सय २५ भारतीय रुपैयाँ तथा ७ हजार युरो विदेश लैजानका लागि सिफारिस गरेको छ। विभागको सिफारिस र नेपाल राष्ट्र बैंकबाट स्वीकृतिपछि १५ दिनभित्र रकम लैजान पाइन्छ।
फागुनमा मात्रै ३ अर्ब सिफारिस
विभागले फागुनमा मात्रै लाभांशवापत करिब ३ अर्ब रूपैयाँ विदेश लैजानका लागि सिफारिस दिएको छ। विभागले २ अर्ब ८ करोड १० लाख ८३ हजार रूपैयाँ विदेश लैजान सिफारिस गरेको हो । रोयल्टीवापत फागुनमा मात्रै ३३ करोड ३० लाख ९१ हजार ५ सय ३७ रूपैयाँ, २लाख ५० हजार २४ अमेरिकी डलर, २० लाख १० हजार ५५ भारतीय रुपैयाँ फिर्ता लैजाने गरी स्वीकृति प्रदान गरेको छ ।
शाखाका प्रमुख शंकरसिंह धामीका अनुसार गत आवको तुलनामा चालु आवमा विदेसिने रकम बढ्ने विभागको अनुमान छ । “गत आवमा विभागले विदेशी लगानीका उद्योगको नाफा तथा रोयल्टीबापतको रकम लैजान कडाइ गरेको थियो, गत वर्ष कडाइ गर्दा अहिले लाभांश तथा रोयल्टी रकम धेरै बिदेसिने अनुमान छ”, उनले भने ।
चालु आवको फागुनसम्म विभागले व्यवसायी भिसाअन्तर्गत १ हजार ६९ जना लगानीकर्ता, एक सय ५० जना प्रतिनिधि र ३ सय ९२ जना आश्रितका लागि सिफारिस गरेको छ। फागुनमा मात्रै विभागले १ सय २३ जना लगानीकर्ता, २९ जना प्रतिनिधि र ७५ जना आश्रितका लागि भिसा सिफारिस गरेको छ। विभागका अनुसार फागुनसम्म २ सय ३९ उद्योगका लागि ३१ अर्ब २१ करोड ११ लाख ३२ हजार १ सय ९६ रूपैयाँ लगानीको प्रतिबद्धता प्राप्त भएको छ।रासस