काठमाडौं । अष्ट्रेलिया र स्पेनसँग आर्थिक साझेदारी विस्तार तथा पर्यटन प्रवद्र्धनका लागि सहकार्य बढाउन सम्वन्धित देशका राजदुतलाइ नेपाल उद्योग परिसंघले आग्रह गरेको छ । हालै कार्यभार सम्हाल्न जान लागेका अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहाल र स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पासँग अन्तरक्रिया गर्दै परिसंघले यस्तो आग्रह गरेको हो ।
राजदूतसँगको अन्तक्र्रियामा परिसंघका अध्यक्ष सतिशकुमार मोरले भने, “नेपाल उद्योग परिसंघले आर्थिक कुटनीतिलाई उच्च महत्व दिदैं आएको छ । देशको आर्थिक विकासको मेरुदण्ड मानिने लगानी तथा पर्यटन प्रवद्र्धनका लागि आर्थिक कुटनीतिमा अव्बल रहनु पर्छ भन्ने मान्यता राख्दै सरोकारवाल सँग परिसंघले निरन्तर संवाद तथा सहकार्य गरिरहेको छ ।”
नेपाललाई अन्तर्राष्ट्रिय लगानीगन्तव्यका रूपमा स्थापितगर्ने तथा लगानीका प्रमुख क्षेत्रहरु पूर्वाधार, जलविद्युत, पर्यटन, आधुनिक कृषि तथा सञ्चार प्रविधि लगायतका क्षेत्रमा लगानी तथा साझेदारी बढाउन सम्बन्धित देशको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध अझ विस्तार गर्न राजदुतावासको थप सकृयता आवश्यक रहेकाले यसमा नवनियुक्त राजदुतहरुले भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि अध्यक्ष मोरले उल्लेख गरेका थिए ।
अष्ट्रेलियाका लागि नेपाली राजदुत महेश दाहालले व्यवसायिक क्षेत्र तथा संघसंस्थाहरु बीच संस्थागत सम्बन्ध विस्तार, लगानीकर्ताहरुको भ्रमण आदान–प्रदान तथा प्राविधिक शिक्षामा सहकार्य बढाएर दक्ष जनशक्ति निर्माणमा भूमिका खेल्ने कुरालाई प्राथमिकतामा राखेको जानकारी गराए । राजदूत दाहालले नेपाली वस्तुहरुको निर्यात बढाउन राजदुतावासमा नेपाली वस्तुहरुको जानकारी सहजै प्रदान गर्ने व्यवस्था मिलाउने विषयलाई पनि आफुले ध्यानमा राखेको बताए ।
त्यस्तै, स्पेनका लागि नेपाली राजदुत दावाफुटी शेर्पाले पनि स्पेनबाट नेपाल आउने पर्यटकको संख्या उल्लेख्य रहेको र यसलाई बढाउन थप पर्यटन प्रवद्र्धनका लागि साँस्कृतीक सम्बन्ध विस्तार गर्नेमा ध्यान दिने र यसमा परिसंघको सहकार्य महत्वपूर्ण रहेको बताए । यसैगरी, नेपाली वस्तु तथा उत्पादनको बजार तथा लगानी प्रवद्र्धन गर्ने र प्रविधि हस्तान्तरण लगायतका आर्थिक विषयमा पनि राजदूतद्वयले प्राथमिकताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
परिसंघका उपाध्यक्ष विरेन्द्रराज पाण्डेले भौतिक पूर्वाधार विकासमा देखिएको समस्या समाधान गर्न परिसंघले पूर्वाधार सम्मेलन गर्दै आएको जानकारी गराउदै नेपालका लागि विकसित देशको लगानी र प्रविधि दुबैको उच्च महत्व रहेकाले दुतावासहरुले सक्रिय भूमिका निभाउनु पर्नेमा जोड दिए ।