काठमाडौं। काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) प्रशासनले आफ्नो गल्ती स्वीकार गरेको छ। भर्ना वर्ष २०७७ (बिए) को नतिजा वैशाख १० गते परीक्षा नियन्त्रक कार्यालय बल्खुले सार्वजनिक गरेको थियो।
उक्त नतिजामा आरआरका अधिकांश विद्यार्थी आन्तरिक मूल्यांकन परीक्षा (पूर्णाङ्क ३०) मा सहभागी नभएको अर्थात एब्सेन्ट देखिएको छ। कलेज प्रसाशनकै कारण धेरै विद्यार्थीको वार्षिक परीक्षाफलमा एब्सेन्ट देखिएको क्याम्पस प्रमुख डा. जीवनधर ज्ञवालीले स्वीकारेका छन्।
‘हाम्रो गल्ती/कमजोरी भएको हो, सोमबारसम्म बल्खुमा विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर पाठाउँछौं,’ उनले भने। विद्यार्थीहरुका अनुसार परीक्षा दिएर पनि ९० प्रतशतभन्दा बढी विद्यार्थी एब्सेन्ट देखिएका हुन्। तर, क्याम्पस प्रशासनले कति विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर छुटेको छ भन्ने विषयमा प्रष्ट पारेको छैन।

यसैबीच क्याम्पसले नतिजामा एब्सेन्ट देखिएका विद्यार्थीले फारम भरेर पुन परीक्षा दिनुपर्ने सूचना जारी गरेको थियो। तर, अफ्नो नभइ क्याम्पसको गल्तीमा फेरि परीक्षा नदिने अडान विद्यार्थीले राखेपछि यसअघि प्रयोगात्मक परीक्षा दिएका विद्यार्थीले पुन परीक्षा दिनु नपर्ने पनि बताइएको छ।
नतिजा प्रकाशन भएको भोलिपल्टदेखि नै आफूले आन्तरिक मूल्यांकन बुझाएको सक्कल विवरण र क्याम्पसले बल्खुमा पठाएको नम्बर सार्वजनिक गर्न विद्यार्थीहरुले माग गर्दै आएका छन्। तर, क्याम्पस प्रमुख ज्ञवालीले भने आन्तरिक मूल्यांकनको विवरण सार्वजनिक गर्न नमिल्ने भन्दै विषय शिक्षकको रोहबरमा नम्बर दिने तयारी गरेको विद्यार्थी हर्क बोहोराको भनाइ छ।
तर, क्याम्पसकै एक प्राध्यापक बल्खुबाट नतिजा सार्वजनिक भइसकेपछि आरआरले आन्तरिक मूल्यांकनमा दिएको नम्बर र विद्यार्थीले बुझाएको प्रयोगात्कम परीक्षाका विवरण सार्वजनिक गर्न मिल्ने बताउँछन्।

वैशाख १३ गते विद्यार्थीहरुले आन्तरिक मूल्यांकनको नम्बर सार्वजनिक गर्न नसेकोभन्दै व्यङ्ग्य स्वरुप क्याम्पस प्रमुखलाई फूलमाला लगाएका थिए। सोही क्रममा केही माग राखेर ज्ञापनपत्र बुझाएपनि माग सुनुवाइ नभएको अर्का विद्यार्थी संगम राई बताउँछन्।
यसैबीच अंग्रेजी विषयका प्राध्यापक लोकनाथ कोइरालाले कलेज प्रशासनका कारण विद्यार्थीको नतिजामा गल्ती भएको भन्दै राजीनामा दिएका छन्। ७ पेष्ठको राजीनामा पत्रमा प्राध्यापक कोइरालाले आफूले विद्यार्थीलाई दिएको नमबरभन्दा प्रसाशनले फरक नम्बर दिएको समेत उल्लेख गरेका छन्। साथै आरआर क्याम्पसका एक प्रशासक अर्को निजी कलेजको सञ्चालक रहेकोसमेत कोइरालाको राजीनामा पत्रमा उल्लेख छ।

विद्यार्थीले १५ गते फेरि आठ बुँदे मागसहित प्रमुख ज्ञवालीलाई आफ्ना अर्को ज्ञापनपत्र बुझाएका छन्। प्राध्यापक कोइरालाको राजीनामा क्याम्पसले स्वीकृत गर्न नहुने, राजीनामा पत्रमा उल्लेख भएका विषयमा छानबिन हुनुपर्ने तथा आन्तरिक मूल्यांकनको विवरण सार्वजनिक गर्नुपर्नेलगायतका माग विद्यार्थीले गरेका छन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख ज्ञवालीले भने, ‘कोइराला सरको राजीनामा स्वीकृत हुँदैन, आइतबारबाट पढाउन आउँनुहुन्छ, उहाँले उठाउनु भएका अरु विषयमा छानबिन गर्छौं।’
