एजेन्सी। भारतको वाडिया ग्रुपको स्वामित्वमा रहेको वायुसेवा कम्पनी ‘गो फर्स्ट एयरलाइन्स’ टाट पल्टिएपछि ३ बैंकको ६५ अर्ब २१ करोड भारु जोखिममा परेको छ।
वायुसेवा कम्पनी गो फर्स्टले बैंक अफ बरोडा, एक्सिस बैंक र आइडिबीआई बैंकलाई सो रकम ऋण तिर्न बाँकी छ। गो फर्स्टले टाट पल्टिएको घोषणा गर्दै भारतको राष्ट्रिय कम्पनी कानुन न्यायाधीकरणसमक्ष स्वेच्छिक खारेजीका लागि मंगलबार निवेदन दिएको छ।
गो फर्स्ट खारेजीमा जाने निवेदनअनुसार केन्द्रीय बैंक अफ इन्डिया र ड्युस बैंक जस्ता बैंकहरू पनि गो फर्स्टको वित्तीय ऋणदाता रहेको उल्लेख छ। बैंक तथा वित्तीय संस्था, बिक्रेता र विमान भाडामा लिनेहरुसहित सबै ऋणदाताहरूमा गो फर्स्टको कूल दायित्व १ खर्ब १४ अर्ब ६३ करोड भारु छ।
अहिले भएको कम्पनीको सम्पत्तिले ऋणहरु तिर्न पर्याप्त नभएको गो फर्स्टले स्पष्ट पारेको छ। गो फर्स्टले ऋणदाताहरूलाई भुक्तानीमा पूर्वनिर्धारित गरेको छ। जसमा बिक्रेताहरूलाई १२ अर्ब भारु र विमान भाडामा दिनेहरूलाई २६ अर्ब ६० करोड रुपैयाँ समावेश छ।
नगद संकटबाट ग्रस्त एयरलाइन्सले विमान भाडा सम्झौता खारेज गर्न भाडामा लिनेहरूबाट सूचनाहरू पनि प्राप्त गरेको थियो र केहीले विमानलाई ग्राउन्ड वा पुनः कब्जा गर्न कम्पनीविरुद्ध कारबाही सुरु गरेको छ।
एयरलाइन्स खारेजीमा लैजान न्यायाधीकरणमा निवेदन दिइएको गो फर्स्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कौशिक खोनाले बताए छन्। गोले बुधबारदेखि सबै उडानहरु बन्द गरेको छ।
गोमा गरेको ऋण लगानी जोखिममा परेपछि बुधबार सेन्ट्रल बैंक अफ इन्डियाको सेयर मूल्य ५ प्रतिशत घटेको छ। यस्तै बैंक अफ बरोडाको २.५, आइडिबिआईको १.१ र एक्सिस बैंकको १.९ प्रतिशत सेयर मूल्य घटेको छ।
समाचार संस्था रोयटर्सका अनुसार समस्याग्रस्त एयरलाइन्सले अप्रिलको अन्त्यसम्म यी मध्ये कुनै पनि बक्यौतामा डिफल्ट गरेको थिएन।
वाडिया समूहको स्वामित्वमा रहेको गो फस्र्टले वित्तीय दायित्वहरू पूरा गर्न नसक्ने भएपछि खारेजीमा जान लागेको स्पष्ट पारेको छ। गो फर्स्टले अमेरिकी कम्पनी प्राट एन्ड ह्विटनीको इन्जिनलाई दोष दिएको छ।
गो फर्स्टले आर्थिक वर्ष २०२२ मा हालसम्मको सबैभन्दा उच्च वार्षिक वित्तीय घाटा बेहोरेको छ। धेरै महिनासम्म वायुसेवा कम्पनीले उत्साहित घरेलु उड्डयन बजारमा महत्वपूर्ण व्यापार गुमायो।
यसले सुरुमा सरकारको आपतकालीन क्रेडिट लाइन ग्यारेन्टी योजनाअन्तर्गत यसको सञ्चालनको लागि बढ्दो हवाई यात्राको मागको बीचमा ६ अर्ब भारु ऋण प्राप्त गरेको थियो। वाडिया समूहले पनि १५ महिनामा ३० अर्ब भारु लगानी गरेको थियो।
प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले भारतीय ऋणदाता विशेष गरी सरकारी बैंकहरूलाई खराब कर्जाको भारी बोझबाट बाहिर निकाल्ने प्रयास गरिरहेका बेला गो फर्स्टखारेजीको अवस्थामा पुगेको छ।
एयरलाइन्सले सरकारलाई घटना क्रमबारे जानकारी गराएको छ र उड्डयन नियामक नागरिक उड्डयन महानिर्देशकको कार्यालय (डिजिसिए) लाई विस्तृत प्रतिवेदन बुझाउने भएको छ।
गो फर्स्ट भारतको पाँचौं ठूलो वायुसेवा हो। यसको यात्रु हिस्सा ८.४ प्रतिशत छ।
इन्जिन निर्माता कम्पनी प्राट एन्ड ह्विट्नीको इन्टरनेसनल एरो इन्जिन (आइएइ) द्वारा आपूर्ति गरिएका इन्जिन लगातार असफल भएपछि खारेजीमा जाने निर्णय गर्नुपरेको सिइओ खोनाले स्पष्ट पारेका छन्।
जसका कारण गो फस्र्टले २५ जहाज ‘ग्राउन्डेड’ गर्नुपरेको कम्पनीले जनाएको छ। ‘ए३२० निओ’ एयरक्राफ्टका अनुसार प्राट एन्ड ह्विट्नीको दोषपूर्ण इन्जिनका कारण ग्राउन्डेड गरिएका जहाज सन् २०१९ डिसेम्बरमा ७ प्रतिशतबाट बढेर २०२० डिसेम्बरमा ३१ प्रतिशत पुगेको थियो।
लिज भुक्तानी बाँकी रहेका समेत गरी मार्च ३१ सम्म गो फस्र्टका ३० जहाज ग्राउन्डेड भएका थिए। गो फर्स्टसँग कूल ६१ जहाज छन्। गो फर्स्ट भारतको सस्तोमा उडान गर्ने वायुसेवा कम्पनी हो। वाइडा ग्रुपले २०१७ मा गो फर्स्ट स्थापना गरेको थियो।